
विराटनगर । मोरङको उर्लाबारीमा जारी ‘चौथो उर्लाबारी भेट्रान्स’ फुटबल प्रतियोगितामा पाहुना टोली झापालाई हराउँदै बेलबारीको एभरेस्ट भेट्रान्स फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा बेलबारी भाउन्नेको एभरेस्टले झापाको कनकाई भेट्रान्स फुटबल क्लबलाई ४–१ को गोल अन्तरमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलको २० औँ मिनेटमा एभरेस्टका देउमान लिम्बूले टोलीका लागि गोलको खाता खोले । उनले झापाका गोलरक्षक देवकुमार श्रेष्ठलाई बिट उत्कृष्ट गोल गरे । २९ औँ मिनेटमा झापाका पालुम किपगेनको प्रहारले जाली चुम्दा खेल १–१ को बराबरीमा आयो ।
खेलको ३३ औँ मिनेटमा देउमान लिम्बूले डिफेन्सको कमजोरीको फाइदा उठाउँदै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई पुनः २–१ को अग्रता दिलाए । ३७ औँ मिनेटमा उनले ह्याट्रिक पूरा गर्दै एभरेस्टलाई ३–१ को स्थितिमा पुर्याए । ५३ औँ मिनेटमा पुनः देउमान लिम्बुले गोल थप्दै व्यक्तिगत चौथो गोल पूरा गरे र टोलीलाई ४–१ को सुरक्षित अग्रता दिलाए ।
खेलको प्लेयर अफ द म्याच एभरेस्टका देउमान लिम्बूले नगद १ हजार १ सय रुपैयाँ र ट्रफी प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत शुक्रबार घरेलु टोली उर्लाबारी भेट्रान्स (निलो) र झापाको दमक भेट्रान्स क्लबबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका सचिव विक्रम चापागाईंले जानकारी दिए ।
प्रतियोगितामा झापा, मोरङ र सुनसरीका १० वटा क्लबको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय १ रुपैयाँ र उपविजेताले ५१ हजार १ सय १ रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् ।
आयोजक क्लबका अध्यक्ष दीपक पोमु लिम्बूका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य अनुभवी तथा पुराना खेलाडीलाई पुनः एकै मैदानमा ल्याउँदै खेलप्रतिको आकर्षण कायम राख्नु र स्वास्थ्यप्रति सचेतना फैलाउनु रहेको छ ।



















