सर्वोच्च अदालतद्वारा संवैधानिक इजलासको छुट्टै वेब पोर्टल सार्वजनिक

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २०, शुक्रबार १५:०५

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक इजलाससँग सम्बन्धित न्याय सम्पादनलाई थप व्यवस्थित र पारदर्शी बनाउन छुट्टै वेब पोर्टल सञ्चालनमा ल्याएको छ । शुक्रबार सर्वोच्च अदालतकी कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले उक्त पोर्टलको औपचारिक शुभारम्भ गरेकी हुन् ।

नयाँ वेब पोर्टलमार्फत अब सरोकारवाला र सर्वसाधारणले संवैधानिक इजलाससँग सम्बन्धित पेसी, आदेश, फैसला तथा अन्य महत्वपूर्ण विवरणहरू सहजै प्राप्त गर्न सक्नेछन् । पोर्टलमा इजलाससँग सम्बन्धित ऐन, कानुन र कार्यविधिका कागजातहरू समेत समावेश गरिएको छ, जसले कानुनी प्रक्रिया बुझ्न थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

Advertisement

हाल संवैधानिक इजलासमा कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा र शारङ्गा सुवेदी रहेका छन् । इजलासमा अहिलेसम्म कुल ९ सय १४ वटा मुद्दा दर्ता भएकोमा ६ सय ३८ वटाको फैसला भइसकेको छ भने २ सय ८२ वटा मुद्दा अझै किनारा लाग्न बाँकी छन् ।

सर्वोच्च अदालतले अब संवैधानिक रिटका मुद्दाहरूलाई विशेष प्राथमिकतामा राखेर सुनुवाइ अघि बढाउने रणनीति लिएको छ । विशेषगरी निर्वाचनसम्बन्धी विवादहरूलाई ६ महिनाभित्रै निरूपण गर्ने लक्ष्य राखिएको छ । यसका साथै ८ वर्षभन्दा पुराना मुद्दाहरूलाई पहिलो प्राथमिकताको सूचीमा राखेर तत्काल फैसला गर्ने तयारी अदालतको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.