
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश समितिको अध्यक्ष बाहेक पदाधिकारी निर्विराेध भएका छन् । विराटनगरमा जारी महासंघको ८औँ प्रदेशसभामा अध्यक्ष बाहेकका ४ पद निर्विराेध भएकाे हाे ।
निर्वाचन समितिका अनुसार जिल्ला–नगरतर्फको उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगत तर्फको उपाध्यक्षमा राजन श्रेष्ठ, एशोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवण कुमार अग्रवाल निर्विरोध भएका हुन् । निर्विरोध भएका सबै पदाधिकारी अध्यक्षका उम्मेदवार राजेन्द्र राउत समूहका हुन् ।
महासंघको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष राजेन्द्र राउत र केन्द्रीय सदस्य नविन रिजाल चुनावी मैदानमा उत्रिएका छन् । शिवम् अर्गनाइजेसनका अध्यक्ष राजेन्द्र राउत महासंघ कोशीका संस्थापक सदस्य हुन् र उनको कार्यकालमा प्रदेश कार्यालय भवन निर्माण भइरहेको छ ।
अध्यक्षसँगै विभिन्न विधाका सदस्य पदका लागि पनि मतदान हुँदैछ । जिल्ला नगरतर्फ ५ सदस्यका लागि कृष्ण प्रसाद रिजाल, राजु ढंगुना, शेर बहादुर भण्डारी, जय प्रकाश शर्मा, शोभा कोइराला, खड्ग बहादुर श्रेष्ठ र नविन कुमार चौधरी गरी ७ जनाको उम्मेदवारी परेको छ । २ जना वस्तुगत सदस्यका लागि सुवास आचार्य, धनबहादुर काफ्ले र दिपक पाण्डे गरी ३ जना प्रतिस्पर्धामा छन् । एशोसिएट्स सदस्यमा देवकी नन्दन अग्रवाल र भविश कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । निर्वाचनमा २०५ जना मतदाता रहेका छन् ।



















