
काठमाडौं। नेपाल राष्ट्र बैंकले ३ करोड रुपैयाँभन्दा कमको ऋणको जोखिम भार घटाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै साना तथा मझौला ऋणको हकमा यस्तो भार घटाउने व्यवस्था गरेको हो।
यसअघि यस्ता कर्जाहरूको जोखिम भार शतप्रतिशत रहेको थियो। अब भने कृषि, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा प्रवाह भएका ३ करोडसम्मका ऋणले यो सहुलियत पाउनेछन्। यस्तो सुविधा पाउनका लागि ऋणको बीमा गरिएको हुनुपर्ने वा पर्याप्त धितो कायम भएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।
सरकारले अघि सारेको शासकीय सुधारका १०० कार्यसूचीमा साना तथा मझौला ऋणको जोखिम भार घटाउने विषय समावेश गरिएको थियो। सोही कार्यसूचीलाई कार्यान्वयन गर्न र राष्ट्र बैंकले यसअघि नै ल्याएका एसएमई कर्जा विस्तारका कार्यक्रमलाई थप प्रभावकारी बनाउन यो नयाँ व्यवस्था गरिएको प्रवक्ता गुरुप्रसाद पौडेलले जानकारी दिए।



















