
विराटनगर । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले मुलुकको समग्र आर्थिक विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका मेरुदण्डका रूपमा रहने बताएका छन् ।
विराटनगरमा मंगलबार आयोजित आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट तर्जुमाका लागि राजस्व परामर्श समितिको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । अर्थ मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश), मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा सचिव उपाध्यायले सरकारले निजी क्षेत्रलाई सहयोगीका रूपमा मात्र नभई विकासको साझेदारका रूपमा हेरेको स्पष्ट पारे ।
उनले भने, ‘मुलुकमा रोजगारी सिर्जना र आर्थिक क्रियाकलाप बढाउन निजी क्षेत्रलाई सहजीकरण गर्नु सरकारको प्राथमिकता हो । अहिले दुईतिहाइको स्थिर सरकार रहेको अवस्थामा उद्यमीमैत्री कानुन निर्माण र प्रविधिमा सुधार गर्दै अघि बढ्ने यो एक स्वर्णिम अवसर हो ।’ सचिव उपाध्यायले व्यक्तिको निजी सम्पत्तिलाई राष्ट्रिय सम्पत्तिकै रूपमा सम्मान गर्दै त्यसको पूर्ण सुरक्षा र संरक्षण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले व्यापार सहजीकरण गरी आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले नै सुझाव संकलन कार्यक्रम आयोजना गरिएको बताए । यस्तै, भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले वर्तमान सरकार निजी क्षेत्रप्रति अत्यन्त सकारात्मक रहेको र व्यवसायीहरूको माग अनुसार भन्सार प्रक्रियामा व्यापक सुधार गरिएको जानकारी दिए ।
आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले राजस्व संकलनलाई थप प्रभावकारी बनाउन व्यवसायीहरू अब ‘मल्टिरेट’ (बहु–दर) प्रणालीमा जान मानसिक रूपमा तयार हुनुपर्ने विचार राखे । निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले लगानीको उचित वातावरण र व्यवसायीको सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिए ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी र नेपाल उद्योग परिसंघका पवन शारडा लगायतले खुला सिमानाका कारण हुने अवैध व्यापार र चोरी निकासी नियन्त्रण गर्न सरकारले कठोर कदम चाल्नुपर्ने सुझाव दिएका थिए । बजेट निर्माण पूर्वको यस छलफलमा आएका सुझावहरूले आगामी बजेटलाई थप व्यावहारिक र उत्पादनमुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।



















