
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले कुल ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकहरूले ४३ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएका थिए ।
साउनदेखि फागुनसम्मको अवधिमा नबिल बैंक सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ । नबिलले ६ अर्ब ७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी ग्लोबल आईएमई बैंकले ४ अर्ब ६२ करोड र कुमारी बैंकले ३ अर्ब ६३ करोड रुपैयाँ नाफा कमाएका छन् ।
यस अवधिमा केही बैंकहरूको नाफामा भने उल्लेख्य गिरावट देखिएको छ । एनआईसी एशिया बैंकको खुद नाफा सबैभन्दा कम ३० करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै लक्ष्मी सनराइज बैंकले ६५ करोड ४ लाख र सिटिजन्स बैंकले ८० करोड रुपैयाँ मात्र नाफा कमाएका छन् ।
प्रतिशतका आधारमा कुमारी बैंकको नाफामा २७४.६५ प्रतिशतको छलाङ देखिएको छ । सिद्धार्थ बैंकको ६८.३१ र कृषि विकास बैंकको नाफा ६५.५६ प्रतिशतले बढेको छ । यद्यपि, एनआईसी एशिया, लक्ष्मी सनराइज र नेपाल बैंक लगायतका ११ वटा बैंकको नाफा भने अघिल्लो वर्षको तुलनामा घटेको छ । लक्ष्मी सनराइजको ६७.३६ प्रतिशत र एनआईसी एशियाको ६२.४० प्रतिशतले नाफा घटेको तथ्याङ्कले देखाएको छ ।



















