
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ४२.१२ अङ्कले बढेर २७९९.५३ विन्दुमा पुगेर बन्द भएको छ । बजार २८ सय विन्दुको नजिक पुगेसँगै लगानीकर्तामा उत्साह देखिएको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । दिनभर कुल ३४५ कम्पनीका १ करोड ८६ लाख कित्ता सेयर खरिद-बिक्री हुँदा ८ अर्ब २१ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बजारका सबै उप-सूचकहरूमा हरियाली छाएको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह ३.८७ प्रतिशतले बढेको छ भने जलविद्युत २.६१ प्रतिशत र होटल तथा पर्यटन समूह २.५६ प्रतिशतले वृद्धि भएको छ । यस्तै बैंकिङ समूह १.१५ प्रतिशत र विकास बैंक १.९८ प्रतिशतले बढेका छन् ।
आज ४ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । जसमा रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रोटेक, सोलु हाइड्रो र होटल फरेस्ट इन रहेका छन् । कारोबार रकमका आधारमा आज ४६ करोड ८१ लाख रुपैयाँसहित एसवाई प्यानल शीर्ष स्थानमा रह्यो । रिलायन्स, शिवम् सिमेन्ट, एनआरएन इन्फास्ट्रक्चर र नेशनल हाइड्रोपावरको पनि उच्च कारोबार भएको छ ।
बजारमा समग्र उत्साह देखिए पनि केही कम्पनीको मूल्यमा भने गिरावट आएको छ । सबैभन्दा बढी स्वेतगंगा हाइड्रोपावरको मूल्य ४.३५ प्रतिशतले घटेको छ । आज कुल २४३ कम्पनीको मूल्य बढ्दा २१ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।


















