
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाएको छ । इन्धनको मूल्यमा लगातार भइरहेको वृद्धिलाई आधार मानेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा समायोजन गर्न यातायात व्यवस्था विभागलाई सहमति दिएको हो ।
मन्त्रालयको निर्णयअनुसार यात्रुबहाक सवारीसाधनको भाडा करिब १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीसाधनको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने मालवहाक सवारीसाधनको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।
मन्त्रालयका अनुसार पछिल्ला महिनाहरूमा इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिले यातायात सञ्चालन लागत बढाएको छ । जसका कारण भाडा दर पुनरावलोकन गर्नुपर्ने अवस्था आएको हो । विभागका एक उच्च अधिकारीका अनुसार मन्त्रालयको सहमतिअनुसारको नयाँ भाडा दर समायोजनसम्बन्धी निर्णय लगभग टुंगो लागेको छ ।
भाडा समायोजन लागू भएपछि देशभरका सार्वजनिक यातायात सेवामा प्रत्यक्ष प्रभाव पर्नेछ । यात्रुहरूले छोटो तथा लामो दूरी दुवै यात्रामा थप खर्च व्यहोर्नुपर्ने देखिन्छ भने यातायात व्यवसायीहरूको बढ्दो सञ्चालन खर्च केही हदसम्म सन्तुलन हुने अपेक्षा गरिएको छ । विभागले औपचारिक सूचना निकालेर भाडा वृद्धिको जानकारी दिने छ ।



















