इन्स्पेक्टर बिनुकुमारी शाहीसहित पाँच जनालाई सफाइ

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २६, बिहीबार ०६:१७

काठमाडौं । हनी ट्र्यापमार्फत रकम असुल गरेको आरोपमा पक्राउ परेकी नेपाल प्रहरीकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीसहित पाँच जनाले अदालतबाट सफाइ पाएका छन् ।

जिल्ला अदालत ललितपुरले मंगलबार एक जनालाई मात्र दोषी ठहर गर्दै बाँकी सबै निर्दोष रहेको फैसला सुनाएको हो । न्यायाधीश ढाकाराम पौडेलको इजलासले तजम्मुल इसलामलाई दोषी ठहर गर्दै एक वर्ष ६ महिना कैद र ३० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको छ ।

Advertisement

अन्य अभियुक्तहरू इन्स्पेक्टर शाही, सुष्मा विश्वकर्मा, भीमादेवी थापा, महेन्द्र हमाल र दर्शन पोखरेलले भने सफाइ भएका छन् । उनीहरुविरुद्ध पर्याप्त प्रमाण नदेखिएको भन्दै सफाइ दिइएको अदालत स्रोतले जनाएको छ ।

यस प्रकरणमा जिल्ला प्रहरी परिसर ललितपुरले २०८१ मंसिर ९ गते छ जनाविरुद्ध आपराधिक लाभ लिएको कसुरमा मुद्दा दायर गरेको थियो । संखुवासभाका इन्द्रकुमार राईबाट हनी ट्र्यापको जालमा पारेर ३० लाख रुपैयाँ असुल गरेको आरोप उनीहरूमाथि लागेको थियो ।

मुद्दाको सुनुवाइका क्रममा केही अभियुक्तहरू प्रारम्भमै पक्राउ परे पनि शाही र पोखरेल भने पछि अदालतमा उपस्थित भएका थिए । अन्ततः अदालतले प्रमाणका आधारमा फरकफरक निर्णय गर्दै मुख्य अभियुक्त इसलामलाई दोषी ठहर गरेको छ भने अन्यलाई सफाइ दिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.