
इलाम । आउँदो वैशाख ५ गतेदेखि सुरु हुने ‘तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकप’ को तयारी अन्तिम चरणमा पुगेको छ। सदरमुकामस्थित ठूलो टुँडिखेलमा आयोजना हुने प्रतियोगिताका लागि अहिले मैदान सम्याउने र प्यारापिट निर्माण गर्ने काम भइरहेको छ।
मैदानमा दर्शकको सुविधाका लागि करिब ४ हजार घना बाँस प्रयोग गरेर अस्थायी प्यारापिट बनाइँदैछ। स्थायी प्यारापिट नहुँदा आयोजकले हरेक वर्ष लाखौँ रुपैयाँ खर्चेर अस्थायी संरचना बनाउनुपर्ने बाध्यता छ। मैदान तयारी र प्यारापिट निर्माणमा मात्रै यस वर्ष करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
एन्फाका पूर्वकेन्द्रीय सदस्य निरोज खड्गीका अनुसार बर्सेनि प्यारापिट बनाउँदा ठूलो रकम खेर गइरहेकाले अब स्थायी रंगशालाको आवश्यकता खड्किएको छ। यद्यपि, मैदान नेपाली सेनाको मातहतमा रहेकाले स्थायी संरचना बनाउन कानुनी जटिलता देखिएको छ।
यस पटक खेलाडीका लागि सुखद पक्ष भनेको मैदानमा दुबो पलाएर हरियाली देखिएको छ। विगतमा धुलाम्मे मैदानमा खेल्नुपर्ने बाध्यता हटेको आयोजक रेडहर्स क्लबले जनाएको छ। प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन एनआरटी, मच्छिन्द्र क्लब, हेटौंडाको चित्लाङ फुटबल क्लब, झापाको रोलिङ क्लब, पाँचथरको फिदिम स्पोर्टिङ क्लब, आयोजक रेडहर्ससहित मलेसिया र भारतका टोलीहरू सहभागी हुनेछन्।
प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका रोहित चन्द, अन्जन विष्ट, मनिष डाँगीसहित ब्राजिल र नाइजेरियाका खेलाडीहरूले समेत प्रतिस्पर्धा गर्नेछन्। वैशाख १२ गते हुने फाइनल खेलको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। इलाममा फुटबलको क्रेज उच्च रहेकाले १० हजारभन्दा बढी दर्शक अटाउने गरी प्यारापिटको क्षमता विस्तार गरिँदैछ।

























