
विराटनगर । विराटनगरमा ५ औँ इक्युवालिटी कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गर्न लागेको प्रतियोगिताको शुक्रबार हुने उद्घाटन खेल विराटनगर हब र एनसीएफ ११ बीच हुनेछ ।
चैत २७ देखि ३० गतेसम्म हुने प्रतियोगितामा कोशी र मधेस प्रदेशका ४ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा कोशी प्रदेशबाट विराटनगर हब र एनसीएफ ११ र मधेस प्रदेशबाट राजविराज र सिरहाको टोलीको रहेका छन् ।
महिला क्रिकेट विकासका लागि ५ वर्षदेखि लगातार प्रतियोगिता आयोजना हुँदै आएको छ । हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवसका समयमा प्रतियोगिता हुने गरे पनि यस वर्ष निर्वाचनका कारण पछाडि सरेको हो ।
प्रतियोगितामा हरेक टिमले एक अर्कासँग खेल्ने छन् । शीर्ष स्थानका २ टोलीबीच फाइनल खेल हुनेछ ।

























