औद्योगिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै ‘बोइलर सञ्चालन’ तालिम सम्पन्न

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २७, शुक्रबार ०८:०३
औद्योगिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै ‘बोइलर सञ्चालन’ तालिम सम्पन्न

विराटनगर । विराटनगरको औद्योगिक कोरिडोरमा कार्यरत प्राविधिकहरूको व्यावसायिक क्षमता र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित १५ दिने ‘बोइलर सञ्चालन’ तालिम सम्पन्न भएको छ । उद्योग संगठन मोरङको आयोजना, इन्स्योर परियोजनाको प्राविधिक सहयोग तथा बागमती आयल इन्डष्ट्रिजको सहकार्यमा उक्त तालिम सञ्चालन गरिएको हो ।

गत चैत ४ गतेदेखि सुरु भई २६ गतेसम्म सञ्चालित यस विशेष तालिममा कटहरी क्षेत्रका विभिन्न उद्योग–प्रतिष्ठानमा कार्यरत ३० जना प्राविधिकहरूको उत्साहजनक सहभागिता रहेको थियो । तालिममा प्रशिक्षार्थीहरूलाई बोइलर सञ्चालनका सैद्धान्तिक र व्यवहारिक दुवै पक्षबारे गहन प्रशिक्षण दिइएको थियो ।

Advertisement

तालिम अवधिभर सहभागीहरूलाई बोइलरको आधारभूत सिद्धान्त, कार्य प्रणाली, सुरक्षित सञ्चालन विधि, र सुरक्षा मापदण्डबारे जानकारी गराइएको थियो । साथै, औद्योगिक क्षेत्रमा ऊर्जाको बचत र प्रभावकारिता बढाउन इन्धन प्रयोगमा ऊर्जा दक्षता, नियमित मर्मत सम्भारको महत्त्व, सम्भावित जोखिम न्यूनीकरण तथा आपत्कालीन अवस्थाको व्यवस्थापन र उपकरणहरूको सही निगरानी गर्ने तरिकाहरूका बारेमा विस्तृत रूपमा सिकाइएको थियो ।

तालिमको समापन तथा प्रमाणपत्र वितरण समारोहमा बोल्दै उद्योग संगठन मोरङका उपाध्यक्ष सुरेन्द्र गोल्छाले उद्योगहरूमा दक्ष प्राविधिक जनशक्तिको ठुलो अभाव रहेको उल्लेख गरे । उनले भने, ‘औद्योगिक दुर्घटना न्यूनीकरण र उत्पादनशीलता वृद्धिका लागि सुरक्षित र प्रभावकारी बोइलर सञ्चालन गर्न सक्ने सीपयुक्त जनशक्ति अपरिहार्य छ । संगठनले आगामी दिनमा पनि यस्ता सीपमूलक कार्यक्रमहरूलाई निरन्तरता दिनेछ ।’

त्यसैगरी, संगठनका कार्यसमिति सदस्य तथा मानव संसाधन समितिका संयोजक दीपक अग्रवालले यस तालिमले सहभागीहरूको कार्यक्षमतामा उल्लेख्य सुधार ल्याउने विश्वास व्यक्त गरे । उद्योग क्षेत्रको वास्तविक आवश्यकतालाई मध्यनजर गर्दै प्राविधिक जनशक्तिलाई अझ सक्षम र दक्ष बनाउन संगठनले निरन्तर पहल गरिरहेको उनले जानकारी दिए ।

पछिल्लो समय औद्योगिक क्षेत्रमा बढ्दो आधुनिक मेसिनरी र प्रविधिको प्रयोगसँगै दक्ष जनशक्तिको माग बढ्दै गएको सन्दर्भमा यस किसिमको तालिमले उद्योग र श्रमिक दुवैलाई फाइदा पुग्ने सहभागीहरूले बताएका छन् ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.