
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा भएको ‘प्रथम बुढीगंगा गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि सिरहाको सलहेश युवा क्लबले जितेको छ । बुढीगंगा–२ अमाही भएको फाइनलमा खेलमा सिरहाले झापा दमकको चात्या सा फुटबल क्लबलाई २–० गोल फरकमा पराजित गर्दै उपाधि जितेको हो ।
निकै प्रतिस्पर्धात्मक रहेको खेलको छैटौं मिनेटमा सिरहाका फोडे फोफनाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । एक गोलले पछाडि रहेको झापाले गोलको धेरै प्रयास गरे भने सिरहाले गोल संख्या बढाउने खोजे पनि मध्यान्तरसम्म दुवै टोलीले गोल गर्न सकेनन् ।
मध्यान्तरपछि १२ औँ मिनेटमा सिरहाका फकुन्ले अबोयामीले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।
प्रतियोगिताको उपाधि जित्दै सलहेशले ५ लाख रुपैयाँ र उपविजेता झापाले २ लाख ५० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे । खेलको प्लेयर अफ द म्याच झापाका जनमय धामीले ५ हजार रुपैयाँ पाए ।
त्यस्तै, विधागततर्फ उत्कृष्ट गोलरक्षक सलहेशका रेम्बो चौधरी, बेस्ट डिफेन्डर सलहेशकै कुलदीप कार्की, उत्कृष्ट प्रशिक्षक सलहेशका राजीव यादवले जनही १० हजार रुपैयाँ पुरस्कार पाए । सर्वाधिक गोलकर्ता सलहेशकै फोडे फोफना र फकुन्ले अबोयामीको समान ४–४ गोल भएपछि पुरस्कार राशिलाई बराबरी बाँड्दै जनही ५ हजार रुपैयाँ पाए भने वेस्ट मिल्डर झापाका शिशिर लेखीले १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सलहेशका फकुन्ले अबोयामीले २५ हजार रुपैयाँ पाए भने उदयमान खेलाडी बुढीगंगाका रक्की माझीले १० हजार रुपैयाँ पाए ।
प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीहरूलाई कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, पालिकाका अध्यक्ष जितनारायण थापा मगरलगायतले पुरस्कार प्रदान गरे ।

























