
विराटनगर । विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको उज्यालोसँगै फुटबलको महाकुम्भ ‘विराट गोल्डकप’ को ३८ औँ संस्करण शनिबारदेखि भव्य रूपमा सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै झापा–११ ले सानदार जित निकालेको छ । यो जितसँगै झापा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
झापाको जितमा स्ट्राइकर फागुराम थारु नायक बने ।

उनले खेलको १० औँ र ४४ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीको जित सुनिश्चित गरे । खेलको १० औँ मिनेटमा अनुप तामाङको सटिक क्रस पासलाई सदुपयोग गर्दै फागुरामले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफ सकिन ठिक १ मिनेट अघि राजेश दाहालको पासमा उनले व्यक्तिगत दोस्रो गोल गरे । उत्कृष्ट प्रदर्शनका लागि फागुराम प्लेयर अफ द म्याच घोषित हुँदै नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
शनिबारको खेलले २०७१ सालको विराट गोल्डकप फाइनलको सम्झना ताजा गरायो । ११ वर्षपछि सोही मैदानमा आमनेसामने भएका यी दुई टोलीबीचको भिडन्त निकै रोचक थियो । ११ वर्षअघि पनि झापाले आर्मीलाई नै हराएर उपाधि उचालेको थियो । शनिबारको नतिजाले झापाको पुरानो विरासतलाई मात्र जोगाएन, आर्मीलाई प्रतियोगिताबाटै बाहिर पठाएको छ ।

खेलको २३ औँ मिनेटमा गौरव महर्जनको पासमा नवीन लामाले गोल गर्दै आर्मीलाई खेलमा फर्काउने कोसिस गरेका थिए । तर, झापाको रक्षापंक्ति र गोलरक्षकको अगाडि आर्मीका प्रहारहरू सफल हुन सकेनन् । खेलको ७६ औँ मिनेटमा आर्मीका कप्तान जिलेस्पीजंग कार्कीको प्रहारलाई झापाका डिफेन्डर योगेश गुरुङले गोल लाइनबाट क्लियर गरेर झापाको संकट टारेका थिए ।
त्यस्तै, आर्मीका भरत खवास र गौरव महर्जनका कयौँ प्रयासहरू असफल भए । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गरे ।

प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने ट्रस्टका प्रवक्ता धनकुमार लामाले जानकारी दिए ।


























