विराटनगरबाट ११ लाख मूल्य बढीको तस्करीका सामान बरामद, दुईवटा टेम्पो नियन्त्रणमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ३०, सोमबार १५:२८

विराटनगर । तस्करी गरेर भित्राइएको ११ लाख मूल्य बढीको सामान प्रहरीले विराटनगरबाट बरामद गरेको छ । भारतबाट भन्सार छली गरेर ल्याइएका कपडा र हरियो मटर प्रहरीले आइतबार दिउँसो र राति बरामद गरेको हो ।

तस्करीका सामान ओसारपसारमा प्रयोग गरिएका दुईवटा टेम्पो पनि नियन्त्रणमा लिइएको मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लीलाराज लामिछानेले बताए । उनका अनुसार शंकास्पद अवस्थामा रहेका को २ ह ३२४५ र को २ ह ३५८९ नम्बरका दुईवटा टेम्पोलाई विराटनगर महानगरपालिका–६ बाट नियन्त्रणमा लिइएको छ ।

Advertisement

नियन्त्रणमा लिएर खानतलासी गर्दा टेम्पोबाट बिलबिनाका कपडा र हरियो मटर बरामद भएको जानकारी उनले दिए । प्रहरीले रोक्नसाथ टेम्पो छाडेर चालकहरु फरार भएका थिए । फरार भएका चालकको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

भारतबाट चोरी पैठारी गरी ल्याइएका लत्ताकपडा र खाद्यान्न फेला परेपछि टेम्पोसहित सामान नियन्त्रणमा लिइएको डीएसपी लामिछानेले बताए । उनका अनुसार बरामद सामानमा कुर्ता सलवार, लेडिज टपसहित महिला, बच्चा र पुरुषले लगाउने विभिन्न प्रकारका कपडा एवं हरियो मटर रहेका छन् ।

नियन्त्रणमा लिइएका टेम्पोको अन्दाजी ३ लाखसहित बरामद भएको कपडा र हरियो मटरको मूल्य ११ लाख ११ हजार ५ सय ५५ रूपैयाँ भन्सार मूल्यांकन गरिएको छ । नियन्त्रणमा लिइएका टेम्पो र बरामद गरिएको सामानलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी लामिछानेले दिए ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले नेपाल–भारत सीमा क्षेत्रबाट हुने चोरी पैठारी नियन्त्रणका लागि मातहतका सबै प्रहरी युनिटलाई स्पष्ट निर्देशन दिएका छन् । प्रहरीले तस्करसँग मिलेमतो गरेको पाइएमा कारबाही गरिने कटवालको चेतावनी छ । ‘तस्करी नियन्त्रण गर्न सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ,’ उनले भने, ‘सशस्त्र प्रहरीलगायतका निकायसँग समन्वय गरेर कारबाही तीव्र पारिएको छ ।’

कुनै पनि ठाउँबाट चोरी तस्करी भइरहेको पाइएमा तत्काल प्रहरीलाई खबर गर्न सबैलाई कटवालले आग्रह गरेका छन् । सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणका लागि सुरक्षाकर्मीको उपस्थिति बढाएर नियमित गस्ती, शंकास्पद व्यक्तिको निगरानी, चेकजाँचमा कडाइ, प्रविधिको प्रयोग गर्नेदेखि सूचनाका आधारमा छापा मार्ने, स्थानीय बासिन्दा एवं जनप्रतिनिधि र सम्बन्धित निकायसँग सहकार्य गर्ने तथा तस्करीमा संलग्नलाई नियन्त्रणमा लिने काम भइरहेको जानकारी उनले दिए ।

खुला सिमानाको फाइदा उठाउँदै हुने चोरी तस्करी नियन्त्रणमा कुनै सम्झौता नहुने उनले स्पष्ट पारेका छन् । अवैध ओसारपसार नियन्त्रणका क्रममा चैत महिनामा मात्रै १ करोड ५५ लाख ४५ हजार २०८ रुपैयाँ बराबरका तस्करीका सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको कटवालले बताए ।

उनका अनुसार तस्करीका मोटर पार्ट्स, खाद्यान्न, लत्ताकपडा, हार्डवेयर तथा पेय पदार्थ, मरिच र हल्दीलगायतका वस्तु बरामद गरिएको छ । तस्करीमा प्रयोग गरिएका ११ वटा सवारीसाधन र तस्करीमा संलग्न ६ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी उनले दिए । ‘चोरी तस्करी नियन्त्रण गर्न सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । स्थानीयदेखि जनप्रतिनिधि र अन्य निकायसँग समन्वय गर्दै कारबाही तीव्र पारिएको छ,’ एसपी कटवालले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.