जडीबुटीको ‘खानी’ बन्दै संखुवासभा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ५, शनिबार ०८:०४

विराटनगर । प्राकृतिक स्रोत र बहुमूल्य जडीबुटीको भण्डार मानिने संखुवासभामा यस वर्ष जडीबुटी निकासीबाट उत्साहजनक राजस्व संकलन भएको छ ।

डिभिजन वन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२ / ८३ को हालसम्मको अवधिमा चिराइतो, मजिटो र रुद्राक्ष लगायतका जडीबुटी बिक्री तथा निकासीबाट ४ करोड २१ लाख ६ सय २६ रुपैयाँ राजस्व संकलन भएको छ ।

Advertisement

कार्यालयका सूचना अधिकारी डम्बरबहादुर भण्डारीका अनुसार साउन महिनायता मात्रै १२ लाख ८४ हजार ५ सय ५२ किलो जडीबुटी जिल्लाबाट बाहिरिएको छ । जसमा प्रमुख रूपमा बहुमूल्य रुद्राक्ष, औषधिजन्य चिराइतो र मजिटो रहेका छन् । यी जडीबुटीको स्वदेशका विभिन्न सहरका साथै वैदेशिक बजारमा समेत उच्च माग रहेकाले राजस्वमा उल्लेख्य वृद्धि भएको हो ।
यस्तै, जडीबुटी निकासीबाट प्रदेश शुल्कबापत मात्रै थप ८३ लाख ३ सय ८१ रुपैयाँ राजस्व संकलन भएको छ । जडीबुटीका अतिरिक्त काठ निकासीबाट पनि ठुलो आम्दानी भएको छ । चालु आवमा जिल्लाबाट १४ लाख ९६ हजार ६ सय ४७ क्युफिट काठ निकासी भएको वन कार्यालयको तथ्यांक छ ।
विशेषगरी सङ्खुवासभाको माथिल्लो भेगका बासिन्दाका लागि रुद्राक्ष र चिराइतो आम्दानीको मुख्य मेरुदण्ड बनेको छ । स्थानीयले सङ्कलन गर्ने यी जडीबुटीले उनीहरूको आयआर्जन र जीवनस्तर सुधारमा ठुलो टेवा पुर्‍याएको छ ।
गत आर्थिक वर्षको तुलनामा यस वर्ष जडीबुटीको निकासी र माग दुवै बढेको देखिन्छ । गत वर्ष जिल्लाबाट ६० हजार ८ सय ६७ किलो चिराइतो, १२ लाख ६६ हजार ८ सय ९२ किलो रुद्राक्ष, १० हजार ३ सय किलो मजिटो र १ हजार २ सय किलो टिमुर निकासी भएको थियो ।
वन कार्यालयले जडीबुटीको चोरी निकासी रोक्न सुरक्षा र निगरानीमा कडाइ गरेको जनाएको छ । कार्यालयले वनको दिगो व्यवस्थापनलाई प्राथमिकता दिँदै जडीबुटीको संरक्षण र उत्पादन वृद्धिका लागि विभिन्न सचेतनामूलक र प्राविधिक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
‘जिल्लामा जडीबुटीको प्रचुर सम्भावना छ,’ सूचना अधिकारी भण्डारीले भने, ‘यसको वैज्ञानिक व्यवस्थापन, प्रशोधन र व्यवस्थित बजारीकरण गर्न सके आगामी दिनमा राजस्व अझै बढ्ने र स्थानीयले अझ बढी लाभ लिने निश्चित छ ।’
संखुवासभामा पाइने जडीबुटीको व्यावसायिक उत्पादन र प्रशोधन केन्द्र स्थापना गर्न सके कच्चा पदार्थको साटो उत्पादित वस्तु नै निर्यात गरी थप आम्दानी गर्न सकिने विज्ञहरूको सुझाव छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.