कच्चा तेलसँग मूल्य तुलना गर्नु भ्रामक: आयल निगम

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ६, आइतबार १४:०५
कच्चा तेलसँग मूल्य तुलना गर्नु भ्रामक: आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य निर्धारणलाई लिएर भइरहेका विभिन्न टीकाटिप्पणी र भ्रमहरूका सम्बन्धमा आफ्नो धारणा स्पष्ट पारेको छ। निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्यका आधारमा नै नेपालमा खुद्रा बिक्री मूल्य तोकिने गरेको जनाएको छ।

कच्चा तेल (क्रुड आयल) को मूल्य घटेको बेला पनि नेपालमा इन्धन महँगो भएको भनी भइरहेको प्रचारमा कुनै सत्यता नभएको निगमको भनाइ छ । निगमका प्रवक्ता मनोज ठाकुरले नेपालको आफ्नै रिफाइनरी (प्रशोधन केन्द्र) नभएकाले कच्चा तेल नभई सिधै प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारे ।

Advertisement

‘क्रुड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वाभाविक रूपमा बढी हुन्छ,’ प्रवक्ता ठाकुरले भने, ‘त्यसैले मूल्य तुलना गर्दा कच्चा तेलको होइन, प्रशोधित पेट्रोलियम पदार्थकै अन्तर्राष्ट्रिय मूल्यलाई आधार मान्नुपर्छ।’

निगमका अनुसार सामान्य अवस्थामा कच्चा तेल र प्रशोधित इन्धनबीच १० देखि २० डलरको अन्तर हुने गर्दथ्यो । तर, पछिल्लो अन्तर्राष्ट्रिय परिस्थितिका कारण यो अन्तर निकै बढेको छ । तथ्यांक अनुसार अप्रिल २०२६ मा कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ९९.६ डलर हुँदा पेट्रोलको मूल्य १३९.३ डलर र डिजेलको मूल्य २२८.१ डलर पुगेको थियो । कतिपय अवस्थामा यो अन्तर १४४ डलरदेखि २१६ डलरसम्म पुगेको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय खरिद मूल्यका अतिरिक्त भन्सार शुल्क, सरकारी कर, ढुवानी भाडा, बिमा, भण्डारण खर्च र बिक्रेताको सेवा शुल्क जस्ता पक्षहरूले पनि उपभोक्ताले तिर्ने अन्तिम मूल्य निर्धारण गर्ने निगमले जानकारी दिएको छ । निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त मूल्यका आधारमा प्रत्येक १५–१५ दिनमा मूल्य समायोजन गर्दै आएको छ।

हालै डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ तथा हवाई इन्धनमा ५ रुपैयाँ वृद्धि गरे पनि निगमले अझै घाटा व्यहोरिरहेको बताएको छ । मूल्य वृद्धि पश्चात् पनि डिजेलमा प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा घाटा रहेको र यसले गर्दा १५ दिनमा करिब ५ अर्ब ७५ करोड रुपैयाँ नोक्सान हुने निगमको प्रक्षेपण छ । हाल निगमले डिजेल र मट्टितेलको मूल्य स्थान अनुसार प्रतिलिटर २३४ रुपैयाँ ५० पैसादेखि २३७ रुपैयाँसम्म तोकेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.