प्राकृतिक सौन्दर्यले भरिपूर्ण टीएमजे : गुराँसले ढकमक्क, राताम्मे वन (फोटो फिचर)

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८३ वैशाख ७, सोमबार १३:३९

बसन्तपुर (तेह्रथुम) । पूर्वी नेपालको पर्यटकीय क्षेत्र तिनजुरे–मिल्के–जलजले (टीएमजे) अहिले प्रकृतिको अनुपम सौन्दर्यले ढकमक्क ढाकिएको छ ।

संखुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लाको संगमस्थलमा फैलिएको टीएमजे वसन्त ऋतु सुरु भएसँगै गुराँस फुलेर राताम्मे भएको छ । गुराँस नेपालको राष्ट्रिय फूल पनि हो ।

Advertisement

चैतको अन्तिम सातादेखि वैशाखको अन्तिम सातासम्म यहाँका पहाड, जंगल र डाँडाकाँडा सबै रातो, गुलाबी र सेतो रंगका गुराँसले ढाकिन्छन् । टाढाबाट हेर्दा पहाड नै राताम्मे भएर रंगिएको दृश्य देख्न सकिन्छ । गुराँसको राताम्मे दृश्यले जो कोहीको मन लोभ्याउने गर्छ । टीएमजेलाई ‘गुराँसको राजधानी’ भनेर चिनिन्छ ।

टीएमजेमा विश्वभर पाइने करिब ३५ प्रजातिका गुराँसमध्ये २८ प्रजातिका गुराँस पाइने भएकाले यसको जैविक महत्व अत्यन्त उच्च मानिन्छ । एउटै भू–भागमा यति धेरै प्रजातिका गुराँस भेटिनु दुर्लभ मानिन्छ । यही विशेषताले टीएमजेलाई नेपाल मात्र नभएर दक्षिण एसियाकै महत्वपूर्ण जैविक सम्पदा क्षेत्र बनाएको छ ।

समुद्री सतहबाट करिब एक हजार सात सय मिटरदेखि पाँच हजार मिटरभन्दा बढी उचाइसम्म फैलिएको यो क्षेत्रमा उचाइअनुसार फरकफरक वनस्पति र जीवजन्तु पाइन्छन् । गुराँससँगै यहाँ दुर्लभ जडीबुटी, विभिन्न प्रकारका वनस्पति र धेरै प्रजातिका चरा तथा वन्यजन्तुहरू पनि भेटिन्छन् । रेडपाण्डाजस्ता दुर्लभ जीवको उपस्थिति यस क्षेत्रको अर्को विशेषता हो ।

वसन्त ऋतुसँगै टीएमजे क्षेत्रमा आन्तरिक पर्यटकहरूको घुइँचो बढेको छ । विदेशी पर्यटक पनि पुग्ने गरेका छन् । टाढाटाढाबाट आउने पर्यटकहरू राताम्मे पहाड, स्वच्छ हावा र हिमाली दृश्य अवलोकन गर्दै पदयात्राको आनन्द लिइरहेका छन् । विशेषगरी बसन्तपुरबाट पदमार्ग सुरु हुन्छ । तिनजुरे, चौकी, मंगलबारे, गुफापोखरी हुँदै मिल्के र जलजलेसम्म पुग्ने मार्ग अहिले अत्यन्तै लोकप्रिय बनेको छ ।

गुफापोखरी क्षेत्र पर्यटकहरूका लागि मुख्य आकर्षणमध्ये एक हो । जहाँबाट हिमाली शृंखला र आसपासका हरियाली डाँडाकाँडा देखिन्छन् । मौसम सफा हुँदा मकालु, कञ्चनजंघ, कुम्भकर्ण लगायतका हिमालको दृश्य देखिने स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार पछिल्ला वर्षहरूमा टीएमजेमा आउने पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । सार्वजनिक बिदाको दिन पर्यटकले भरिभराउ हुन्छ । यसले स्थानीय जीवनमा आर्थिक अवसरहरू पनि सिर्जना गरेको छ ।

होमस्टे सञ्चालन, यातायात र स्थानीय उत्पादन बिक्रीमार्फत आम्दानी बढ्दै गएको छ । ग्रामीण क्षेत्रमा पर्यटनले नयाँ जीवन दिएको अनुभव स्थानीयले व्यक्त गरेका छन् ।

तर, पर्यटकको बढ्दो चापसँगै केही चुनौतीहरू पनि देखा परेका छन् । वन क्षेत्रमा फोहोर फाल्ने, गुराँस टिप्ने तथा अव्यवस्थित रूपमा वनमा प्रवेश गर्ने गतिविधिले वातावरणमा असर पार्न थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ । यसै कारण स्थानीय प्रशासन र समुदायले गुराँस टिप्न तथा वनस्पति नष्ट गर्न प्रतिबन्धसमेत लगाएको छ ।

संरक्षणकर्मीहरूले टीएमजे क्षेत्रलाई पर्यटकीय गन्तव्यसँगै अत्यन्त संवेदनशील पारिस्थितिक प्रणाली भएको स्थान भन्छन् । यदि अहिले नै संरक्षणमा ध्यान नदिने हो भने भविष्यमा यसको जैविक विविधता संकटमा पर्न सक्ने उनीहरुको चेतावनी छ ।

टीएमजे क्षेत्रबाट विभिन्न हिमालहरूको मनमोहक दृश्य देखिने भएकाले यो स्थानलाई प्राकृतिक अवलोकन र पदयात्राका लागि उत्कृष्ट गन्तव्य मानिन्छ । वसन्त ऋतुमा गुराँसले ढकमक्क ढाकिएको पहाड र पृष्ठभूमिमा देखिने हिमालहरूको दृश्यले यो क्षेत्रलाई अझ आकर्षक बनाएको छ ।

टीएमजे अहिले प्रकृतिको रंगीन उत्सवमा परिणत भएको छ । राताम्मे पहाड, हिमाली दृश्य र जैविक विविधताको संगमले टीएमजेलाई नेपालको अनुपम प्राकृतिक सम्पदाको रूपमा स्थापित गरेको छ । संरक्षण र दिगो पर्यटन विकासमा ध्यान दिन सकिएमा टीएमजे भविष्यमा प्रकृतिप्रेमीहरूको पहिलो रोजाइ बन्ने स्थानीय बताउँछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.