नेप्सेमा १३ अंकको गिरावट, दुई कम्पनीमा १५ प्रतिशत सर्किट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ७, सोमबार १५:४५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार दोहोरो अंकको गिरावट देखिएको छ । बजार परिसूचक १३.१७ अंकले घट्दै २ हजार ८ सय २५ दशमलव २३ विन्दुमा बन्द भएको नेप्सेले जनाएको छ ।

सोमबार कुल ५ अर्ब ४३ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबारमा ६५ कम्पनीको शेयरमूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ । बाँकी ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

Advertisement

बजार घटेको दिनमा पनि दुई कम्पनीका लगानीकर्ताले उल्लेख्य लाभ लिएका छन् । सूर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिक कम्पनी र होटल फरेस्ट इन लिमिटेडको शेयरमूल्यमा १५ प्रतिशतसम्मको सकारात्मक सर्किट लागेको छ ।

नेप्सेले सोमबारदेखि लागू हुने गरी अधिकतम मूल्य उतारचढाव सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत कायम गरेको पृष्ठभूमिमा यी कम्पनीमा उच्च वृद्धि देखिएको हो । त्यस्तै, बजारमा गिरावटको असर पनि स्पष्ट देखिएको छ ।

दोल्ती पावर कम्पनी र एनआईसी एशिया ग्रोथ फण्ड–२ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी दुवैको शेयरमूल्य करिब ५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा होटल फरेस्ट इन लिमिटेड शीर्ष स्थानमा रहेको छ । यस कम्पनीमा मात्र करिब ३६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । बजार समग्रमा दबाबमा रहे पनि केही कम्पनीमा तीव्र उतारचढाव देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.