धरौटी बुझाएर छुट्नुपर्ने थुनुवा सुनसरी अदालत परिसरबाट फरार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ८, मंगलबार १८:४३

इनरुवा । धरौटी बुझाएर छुट्नुपर्ने चोरी मुद्दाका एक जना थुनुवा सुनसरी जिल्ला अदालत परिसरबाट मंगलबार दिउँसो प्रहरीलाई छलेर फरार भएका छन् ।

तेह्रथुमको म्याङलुङ नगरपालिका–१ घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित चन्दिका तामाङको घरमा कोठा भाडा लिएर बस्दै आएका १९ वर्षीय सुरज खड्का फरार भएका हुन् । सुनसरी प्रहरीका सूचना अधिकारी, डीएसपी चन्द्रबहादुर खड्काका अनुसार इलाका प्रहरी कार्यालय इटहरीको टोलीले सुरजलाई चैत १६ गते पक्राउ गरेको थियो ।

Advertisement

प्रहरीले पटकपटक अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान गरेको थियो । अन्तिम पटक वैशाख ५ गते ५ दिनको म्याद गरिएकोमा अनुसन्धान सकिएपछि प्रहरीले सरकारी वकिल कार्यालय सुनसरीमा मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएको थियो ।

प्रहरीले मिसिल बुझाएपछि अभियोगपत्र तयार पार्दै वकिल कार्यालयले सुरजविरुद्ध अदालतमा चोरी मुद्दा दर्ता गरेको थियो । वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीचको थुनछेक बहस सकिएपछि अदालतले मंगलबार सुरजसँग धरौटीबापत एक लाख रूपैयाँ माग गर्ने आदेश गरेको थियो ।

अदालतले धरौटीबापतको रकम लिएर छाड्न आदेश दिएका सुरज भने अदालत परिसरबाटै फरार भएको डीएसपी खड्काले बताए । उनका अनुसार धरौटीबापतको रकम नबुझाइकन प्रहरीलाई छलेर उनी भागेका हुन् । ‘अदालतले धरौटी खुलाएपछि प्रहरीलाई खाजा खान जान्छु भनेछन् । खाजा खान गएको मौका छोपेर ड्युटीमा रहेका प्रहरीलाई छल्दै भागेछन्,’ प्रहरी स्रोतले भन्यो ।

प्रहरीका अनुसार सुरजले धरौटी तिर्ने रकम आफूसँग नभएको बताएका थिए । धरौटी तिर्न नसकेमा अभियुक्तलाई कारागार चलान गरिन्छ । धरौटी रकम तिर्ने पैसा नभएर आफू कारागार चलान हुने बुझेपछि प्रहरीलाई नै झुक्याएर उनी फरार भएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका असई (प्रहरी सहायक निरीक्षक) राजकुमार माझी नेतृत्वको टोलीले सुरजसहित ५ जना थुनुवालाई जिल्ला अदालत सुनसरी लगेको थियो । सुरज दिउँसो ४ः१० बजेतिर भागेको र अरु थुनुवा प्रहरी नियन्त्रणमै रहेको जानकारी खड्काले दिए ।

उनका अनुसार सुरजको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट इन्स्पेक्टर निराजन कार्की र इलाका प्रहरी कार्यालय इटहरीबाट डीएसपी सुवास हमालको नेतृत्वमा भिन्दाभिन्दै टोली परिचालन गरिएको छ । अन्य मातहतका प्रहरी कार्यालय र सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ ।

प्रहरी टोलीले निरन्तर खोजी जारी राखेको भए पनि यो समाचार तयार पार्दासम्म उनी फेला परेका छैनन् । फरार भएका थुनुवाको खोजी तीव्र पारेर घटनाको अनुसन्धान एवं छानबिन पनि अघि बढाइएको खड्काले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.