जिल्ला अदालत मोरङ : ५० मुद्दाका मिसिल अझै फेला परेनन्

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १४, सोमबार ११:२८

विराटनगर । गत भदौ २४ गते भएको आगजनीका कारण ठूलो क्षति व्यहोरेको जिल्ला अदालत मोरङले जलेर नष्ट भएका मिसिलहरू संकलन गरिरहेको छ।

अदालतले हालसम्म अधिकांश विचाराधीन मुद्दाका मिसिलहरू संकलन गरिसके पनि ५० वटा मुद्दाको मिसिल अझै प्राप्त हुन सकेको छैन।

Advertisement

जिल्ला न्यायाधीश दुर्गाबहादुर भुषालका अनुसार आगजनीको समयमा अदालतमा १ हजार ४१ वटा मुद्दा विचाराधीन अवस्थामा थिए। तीमध्ये विभिन्न स्रोतहरूको सहयोगमा ९ सय ९१ वटा मिसिल संकलन भइसकेका छन्।

अदालतको आफ्नै अभिलेख जलेर नष्ट भएपछि कानुन व्यवसायी, सरकारी वकिलको कार्यालय र अन्य सरोकारवाला निकायहरूको सहयोगमा यी मिसिलहरू पुनः संकलन गरिएको हो। बाँकी ५० वटा मुद्दाको मिसिल जुटाउन अझै प्रयास भइरहेको छ।

आगजनी हुनुअघि फैसला भइसकेका तर फैसला लेख्न बाँकी रहेका ७८ वटा मिसिलमध्ये ७५ वटा संकलन भइसकेका छन्। न्यायाधीश भुषालका अनुसार फैसला लेख्न बाँकी रहेका ३ वटा मिसिलको विवरण अझै फेला पर्न सकेको छैन।

अदालतको अभिलेख शाखामा रहेका करिब १ लाख २५ हजार थान पुराना मिसिलहरू आगजनीमा परेर खरानी भएका थिए। तीमध्ये हालसम्म २ हजार ५ सय ४८ वटा मात्र संकलन गर्न सकिएको छ।

यस्तै, फैसला कार्यान्वयनको जिम्मा पाएको तहसिल शाखामा रहेका १ हजार ७ सय मिसिलमध्ये १ हजार ३ सय ५९ वटा संकलन भएका छन् भने ३ सय ४१ वटा मिसिल अझै संकलन हुन बाँकी छ।

अराजक समूहले गरेको उक्त आगजनीमा अदालतको जिन्सी किताब र लगत किताब लगायतका महत्त्वपूर्ण प्रशासनिक अभिलेखहरू समेत जलेर नष्ट भएका थिए।

अदालतले हराएका र नष्ट भएका कागजातहरूको अभावमा न्याय सम्पादनमा असर नपरोस् भन्नका लागि वैकल्पिक स्रोतहरूबाट प्रमाण र कागजात जुटाउने कार्यलाई प्राथमिकतामा राखेको उनले बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.