
काठमाडौं । बढ्दो महँगीले विद्यार्थीको जनजीवन कष्टकर बनेको भन्दै अमृत क्याम्पस (अस्कल) का विद्यार्थीले सिर्जनात्मक विरोध प्रदर्शन गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) अमृत क्याम्पसको नेतृत्वमा सोमबार कक्षाकोठामै ‘डिजिटल’ माध्यमबाट साङ्केतिक प्रदर्शन गरिएको हो।
विद्यार्थीमाथि थपिएको आर्थिक भार र सरकारको उदासीनताप्रति ध्यानाकर्षण गराउन डिजिटल प्लेकार्डसहित प्रदर्शन गरिएको स्ववियू सभापति रुद्रहरि पोखरेलले बताए। प्रदर्शनका क्रममा विद्यार्थीले ‘महँगीको मार, विद्यार्थीमाथि भार, ४५ प्रतिशत छुट दे सरकार !’ र ‘महँगी नियन्त्रण गर, नत्र आन्दोलनको सामना गर !’ जस्ता नारा सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट सार्वजनिक गरेका छन्।
स्ववियूले विशेषगरी विद्यार्थीले पाउँदै आएको सहुलियत पूर्ण रूपमा कार्यान्वयन हुनुपर्ने र दैनिक उपभोग्य वस्तुमा भइरहेको मूल्यवृद्धि तत्काल नियन्त्रण हुनुपर्ने माग राखेको छ। साङ्केतिक रूपमा कक्षाकोठाबाटै आवाज उठाइएको बताउँदै सभापति पोखरेलले सरकारले महँगी नियन्त्रण र माग सम्बोधन नगरे सशक्त सडक आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

























