
विराटनगर। ‘पहाडकी रानी’ भनेर चिनिने इलामको प्राकृतिक सौन्दर्य र चियाबारीको लोभलाग्दो दृश्यले जोसुकैलाई मोहित बनाउँछ। आज (मंगलबार) राष्ट्रिय चिया दिवस मनाइरहँदा कवि भूपी शेरचनले कुनै समय इलामको सुन्दरताबाट प्रभावित भएर कोरेका शब्दहरू अझै पनि उत्तिकै सान्दर्भिक र जीवन्त लाग्छन्।
भूपीले लेखेका थिए,
‘आफ्नो वरिपरि
भीर, पाखा र कान्लाभरि
थुम्का थुम्का चिया, र
झुम्का-झुम्का अलैँची उमारेर
सन्तोषले एक्कासि सस्मित उठेको झैँ
हरियो भरियो इलामलाई देख्ता मलाई
नेपालभरि अलिअलि इलाम छर्न मन लाग्यो…’
उनका यी हरफहरूले इलामको समृद्ध कृषि र प्राकृतिक मनोहरतालाई सटीक ढंगले चित्रण गरेका छन्।
इलामका थुम्का-थुम्का चियाबारीहरूले केवल जिल्लाको शोभा मात्र बढाएका छैनन्, यसले नेपालको पहिचानलाई विश्वबजारमा समेत पुर्याएका छन्।
बिहानीको झुल्के घामसँगै चियाका मुना टिप्न व्यस्त हातहरू र कुहिरोभित्र लुकामारी खेल्ने हरिया डाँडाहरू कुनै सुन्दर चित्रभन्दा कम देखिँदैनन्।
चिया दिवसको अवसरमा इलामको यो चिया संस्कृति र श्रमलाई सम्मान गर्दै भूपीले परिकल्पना गरे झैँ देशका अन्य भागमा पनि यस्तै हरियाली र उत्पादनको लहर छर्नु आजको आवश्यकता हो।





















