
झापा । झापाको बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीमा जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी परेका छन् । आइतबार बिहान करिब १० बजे स्थानीय तेज बहादुर खवासको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा उनीहरू बिरामी परेका हुन् ।
बिरामी पर्नेहरूमा ५० वर्षीया कमला माया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवास र ८ जना बालबालिका रहेका छन् । जंगली च्याउ खाए लगत्तै स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएको थियो ।
भद्रपुरमा प्रारम्भिक उपचार गरिए पनि थप उपचारका लागि ९ जनालाई दमकस्थित बाल अस्पताल रिफर गरिएको छ । बिरामीमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । वर्षायाम सुरु भएसँगै उम्रिने जंगली च्याउ विषालु हुन सक्ने भन्दै पहिचान नगरी सेवन नगर्न चिकित्सकहरूले सुझाव दिएका छन् ।



















