
पोखरा । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का वडाध्यक्ष शिवबहादुर थापामाथि मानव बेचबिखनको आरोप लागेको छ ।
पीडितको उजुरीपछि नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले कास्कीबाट उनलाई पक्राउ गरेको छ । ब्युरोका एसपी राजन लिम्बूले थापा पक्राउ परेको पुष्टि गर्दै घटनाको थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
थापा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भएपछि करिब १५ महिना वडाध्यक्षको जिम्मेवारी सम्हालेका थापाले २०८० भदौ १५ गते स्वास्थ्य उपचारका लागि भन्दै वडा सदस्य लिलावती पौडेललाई कार्यवाहक जिम्मेवारी दिएका थिए । त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए ।
प्रहरी स्रोतका अनुसार थापा पछिल्लो समय अमेरिकामा बस्दै आएका थिए । करिब दुई महिनाअघि मात्रै नेपाल फर्किएका उनी विदेशमा रहेका बेला पनि नगरपालिकाले २०८० भदौदेखि २०८१ असारसम्मको सेवा सुविधा बापत दुई लाख ७६ हजार १९० रुपैयाँ भुक्तानी गरेको खुलेको छ ।
मानव बेचबिखन जस्तो गम्भीर आरोपमा निर्वाचित जनप्रतिनिधि पक्राउ परेपछि पुतलीबजार नगरपालिकामा समेत तरंग सिर्जना भएको छ । प्रहरीले घटनासँग सम्बन्धित अन्य पक्षको पनि अनुसन्धान भइरहेको जनाएको छ ।

























