
काठमाडौं । संवैधानिक परिषद्बाट प्रधान न्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी पर्ने क्रम जारी रहेको छ ।
समिति सचिवालयका अनुसार मंगलबारसम्ममा प्रस्तावित प्रधान न्यायाधीश शर्माविरुद्ध तीनवटा उजुरी दर्ता भएका छन् । संसदीय सुनुवाइ समितिको गत शुक्रबार शर्माविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार १० दिनको समयसीमा दिइएको छ । जेठ ४ गतेसम्म उजुरी दिन सकिनेछ ।
समितिले उजुरी दिने प्रक्रिया सहज बनाएको छ । उजुरी हुलाकमार्फत, इमेलबाट वा प्रत्यक्ष रूपमा समिति सचिवालयमा पुगेर पत्र बुझाएर उजुरी दिन सकिन्छ । साथै, समिति सदस्यहरूलाई भेटेर खामबन्दी रूपमा पनि उजुरी बुझाउन सकिने व्यवस्था गरिएको छ । देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत पनि उजुरी पठाउन सकिनेछ ।
समितिले उजुरी दिँदा विषयवस्तुको स्पष्ट आधार र कारण उल्लेख गर्न आग्रह गरेको छ । प्राप्त सबै उजुरीहरू जेठ ५ गते बस्ने समितिको बैठकमा सदस्यहरूको रोहबरमा खोलिनेछ ।
उजुरीहरूको अध्ययनपछि समितिले आवश्यक छलफल अघि बढाउनेछ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा मात्रै संवैधानिक परिषद्को सिफारिसअनुसार शर्मालाई राष्ट्रपतिबाट प्रधान न्यायाधीशमा नियुक्त गरिनेछ ।

























