
नुवाकोट । दाजुभाइको हत्या भएको घटनाले नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङ स्तब्ध बनेको छ । हत्या आरोपित व्यक्तिले नै प्रहरीलाई फोन गरेर घटनाको जानकारी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार किम्ताङबेँसीका ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङ मृत अवस्थामा फेला परेका हुन् । उनीहरूको शव खोलामा ढुंगाले थिचेर लुकाइएको अवस्थामा बुधबार प्रहरीले बरामद गरेको थियो ।
डीएसपी विक्रम लामाका अनुसार मंगलबार राति एक व्यक्तिले प्रहरीलाई फोन गरेर आफूले दुवै जनाको हत्या गरेको बताएका थिए । ती व्यक्तिले घटनास्थलको जानकारीसमेत दिएपछि प्रहरी टोली खोजीमा गएको थियो । त्यसक्रममा किम्ताङमा लुकाइएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फोन गर्ने व्यक्तिले आर्थिक लेनदेनको विवादका कारण हत्या गरेको दाबी गरेका थिए । घटनापछि उनी फरार रहेको र खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ । प्रहरीले ती व्यक्तिको पहिचान भने खुलाएको छैन ।
‘आर्थिक कारोबारको विषयमा विवाद हुँदा हत्या गरेको र आफू फरार रहेको भन्ने सूचना आएको थियो,’ डीएसपी लामाले भने, ‘घटनास्थलबाट शव बरामद भएको छ । आरोपीको खोजी भइरहेको छ । पक्राउपछि थप विवरण खुल्नेछ ।’ फोनमार्फत जानकारी दिने व्यक्तिले गोली प्रहार गरेर हत्या गरेको दाबी गरे पनि घटनास्थलबाट प्रहरीले एकथान खुकुरी बरामद गरेको छ ।
घटनाको प्रकृति, हत्या कसरी गरियो र प्रयोग भएको हतियारका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परिवारका सदस्यका अनुसार सोमनाथ र सूर्यमान मंगलबार बिहान कुलो निर्माणको काममा जाने भन्दै घरबाट निस्किएका थिए । त्यसपछि उनीहरूसँग सम्पर्क हुन सकेको थिएन ।
घटनास्थल सडक पहुँचभन्दा टाढा छ । करिब पाँच घण्टा पैदल हिँड्नुपर्ने क्षेत्रमा पर्ने भएकाले शव निकाल्न र अनुसन्धान गर्न प्रहरीलाई कठिनाइ भएको थियो ।
घटनापछि किम्ताङ क्षेत्रका स्थानीय त्रसित बनेका छन् । प्रहरीले फरार आरोपीको खोजी तथा घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको जनाएको छ ।



















