अनलाइन सट्टाबाजीमा संलग्न दुई जना झापाबाट पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३१, बिहीबार १९:४५

विराटनगर । झापाको बिर्तामोडबाट प्रहरीले अनलाइन सट्टाबाजीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले मेचीनगर नगरपालिका– १० का २७ वर्षीय विपिन गिरी र बिर्तामोड नगरपालिका– ६ का ३६ वर्षीय भुवन मेचेलाई पक्राउ गरेको हो । गिरीलाई बिर्तामोड – ५ स्थित गो ६९ क्याफे र मेचेलाई बिर्तामोड- ४ स्थित रेड हट चिल्लीबाट वैशाख २७ गते पक्राउ गरेको  थियाे ।

Advertisement

प्रहरीका अनुसार उनीहरूको साथबाट अनलाइन सट्टाबाजीमा प्रयोग हुने विभिन्न ब्रान्डका ५ थान स्मार्ट मोबाइल सेट र सिमकार्डहरू बरामद भएको छ ।

उनीहरूले रविन गुरुङ लगायतका नामबाट वान एक्सबेट र मोबक्यास जस्ता मोबाइल एप प्रयोग गरी सर्वसाधारणलाई जुवा खेलाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेका दुवैलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सट्टाबाजी सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । झापा जिल्ला अदालतबाट पहिलो पटक २ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएकोमा पुनः दोस्रो पटक ५ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्र।ना।उ। खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।

अभियुक्तहरूले इन्टरनेटको माध्यमबाट ठगी गर्ने नियतले सर्वसाधारणलाई प्रलोभनमा पारी ठूलो रकमको कारोबार गरेको देखिएको छ। उनीहरूमाथि सम्पत्ति शुद्धीकरणको कसुरमासमेत अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.