
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १६ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड जेठ २० देखि २२ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजकसमेत रहेका राखेप सदस्यसचिव रामचरित्र मेहताको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु खेलमा प्रतिस्पर्धा हुनेछ । बैठकमा खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्मा, सम्बन्धित खेलका राष्ट्रिय संघका प्रतिनिधि र मुख्य प्रशिक्षकको उपस्थिति रहेको थियो ।
बैठकलाई सम्बोधन गर्दै सदस्यसचिव रामचरित्र मेहताले प्रतियोगितालाई व्यवस्थित, मर्यादित र सहभागितामूलक बनाउनु पर्नेमा जोड दिए ।



















