
विराटनगर । ग्लोबल आइएमई बैंक विराटनगर शाखामा कार्यरत सिनियर अफिसर पिताम्बर खड्का आफ्नै घरमा मृत फेला परेका छन् । झापाको दमक नगरपालिका–८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय खड्का सोमबार साँझ ५ बजेतिर घरमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
मृत्यु हुनुभन्दा केही समयअघि खड्काले सामाजिक सञ्जाल फेसबुकमा सोही बैंकका केही सिनियर बैंकरहरूको तस्बिर पोस्ट गर्दै आफूलाई उनीहरूले मारेको आरोप लगाएका थिए । उनले फेसबुकमा ‘यु बास्टर्ड किल मी’ र ‘तिमीहरूले मलाई मारेका छौ’ भनी लेखेका छन् । उनले केही सिनियर कर्मचारीहरूको नाम समेत किटान गरेका छन् ।
मृतक खड्का यसअघि झापाको चारआलीस्थित ग्लोबल आइएमई बैंकमा कार्यरत थिए र केही समयअघि मात्रै उनको विराटनगर शाखामा सरुवा भएको थियो ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार खड्कालाई घरमै झुन्डिएको अवस्थामा देखेपछि उनका बुबा महेश खड्काले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको छ ।
सामाजिक सञ्जालमा गरिएको गम्भीर आरोप र घटनाको प्रकृतिलाई लिएर प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको जनाएको छ ।

























