झापा र सुनसरीबाट लागुऔषधसहित ९ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ५, मंगलबार ११:३२

विराटनगर । झापा र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले झापाको बिर्तामोड नगरपालिका–५ शनिश्चरे रोडस्थित पाथीभरा टोलबाट बिर्तामोड–१ का १९ वर्षीय अभिषेक राईलाई ११० मिलिग्राम ब्राउन सुगर र ‘एएसप्याम’ नामक प्रतिबन्धित औषधि ४ ट्याब्लेटसहित पक्राउ गरेको छ । त्यसैगरी बिर्तामोड–५ इन्द्रेणी टोलबाट ब्राउन सुगर १९० मिलिग्रामसहित लागुऔषध कारोबारमा संलग्न स्थानीय ३५ वर्षीय हरसिंह राजवंशी, २१ वर्षीय राजु राजवंशी, बिर्तामोड–६ का ४४ वर्षीय सन्तोषकुमार पराजुली र बिर्तामोड–९ का २२ वर्षीय प्रशान्त खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

यस्तै, इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मेचीनगर नगरपालिका–६ पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ७३१२ नम्बरको सिटी सफारी जाँच गर्ने क्रममा चालक मेचीनगर–६ भानुटोलका ३८ वर्षीय जीवन घिमिरेलाई ११ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक नगरपालिका–६ बसपार्क क्षेत्रबाट दमक–१ की २७ वर्षीया विमला दाहाललाई ६ ग्राम ८४० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

यस्तै, प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–८ सम्पाङ चोकबाट हरिनगर गाउँपालिका–६ का २१ वर्षीय अंजक अन्सारी र हरिनगरा गाउँपालिका–७ का १८ वर्षीय अब्दुल वाहिद अन्सारीलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ट्रामाडोल २ हजार क्याप्सुल र डिकोलिक २ हजार ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.