
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित पहेँलो पुल नजिकबाट प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१७ का २३ वर्षीय सन्दीप परियार रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोप्य सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले बिग्रिएको अवस्थामा रहेको बा ४ ख ५२४१ नम्बरको आइसर गाडीको सिटमुनि लुकाइछिपाइ राखिएको पेस्तोल र म्याग्जिन बरामद गरेको छ ।
एसपी रामेश्वर कार्कीका अनुसार हतियार लुकाइछिपाइ राखिएको सूचनापछि विशेष टोली परिचालन गरिएको थियो । सोही क्रममा जाँच गर्दा हतियार फेला परेको र परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका परियारलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।



















