
विराटनगर । साबिक विजेता लेटाङ फुटबल क्लबलाई हराउँदै विराटनगरको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर जारी छैटौँ मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । प्रतियोगिताअन्तर्गत आइतबार विराटनगर जुट मिलको खेल मैदानमा भएको खेलमा विराटनगरले लेटाङलाई टाइब्रेकरमा ४–३ गोल फरकमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भयो ।
पुलिसका रमेश राजवंशी, सविन राई, हेम तामाङ र सञ्जीव लिम्बूले गोल गरे । पुलिसका समिर लिम्बूको प्रहारलाई लेटाङका गोलरक्षक अमृत क्षेत्रीले विफल पारे ।
लेटाङका नीरज परियार, सुदीप श्रेष्ठ र सुलेन तामाङले गोल गरे । सागर तिवारीको प्रहार बाहिरियो भने उमेश कार्कीको प्रहारलाई पुलिसका गोलरक्षक सचिन चौधरीले बचाउ गरे ।
खेलको प्लेयर अफ द म्याच पुलिसका गोलरक्षक सचिन चौधरीले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरे ।
खेलको दोस्रो मिनेटमै सञ्जय चौधरीको पासमा कृष्ण गुरुङले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको सुरुवातमै गोल खाएपछि दबाबमा परेको लेटाङले ३४ औँ मिनेटमा बराबरी गोल फर्कायो । पृथ्वी चौधरीको पासमा अनुप मगरले गोल गर्दै खेललाई १–१ गोलको स्थितिमा ल्याएका थिए । दुवै टोलीले थप अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो ।
मिल्स गोल्डकप फुटबल ट्रस्टले आयोजना गरेको प्रतियोगिताको सोमबारको खेल सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल (एपीएफ) र विराटनगरको टिडब्लुसिवाइबीच हुने आयोजकले जनाएको छ ।



















