माल्दिभ्समाथि नेपालको सानदार जित 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १०, आइतबार २०:२९
काभा महिला भलिबलमा माल्दिभ्समाथि नेपालको सानदार जित 

काठमाडौं । घरेलु मैदानमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो अपराजित यात्रा कायमै राख्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको समूह  ‘ए’ को अन्तिम खेलमा माल्दिभ्सलाई सोझो सेटमा स्तब्ध पार्दै नेपाल अन्तिम चारमा पुगेको हो ।

घरेलु दर्शकको हुटिङ र समर्थनका बीच मैदान उत्रिएको नेपाली टोलीले माल्दिभ्समाथि सुरुवातदेखि नै दबाब बनाएको थियो । नेपालले पहिलो सेट २५–१२ को सहज अन्तरले आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेटमा अझै आक्रामक देखिएको नेपालले माल्दिभ्सलाई मात्र ९ अंकमा सीमित गर्दै २५–९ को जित निकाल्यो ।

Advertisement

तेस्रो सेटमा माल्दिभ्सले केही चुनौती दिने प्रयास गरे पनि नेपालले २५–२० ले सेट जित्दै खेल ३–० को सोझो सेटमा समाप्त गर्‍यो । यो जितसँगै नेपालले समूह चरणमा आफ्नो बलियो उपस्थिति प्रमाणित गरेको छ ।

लगातार दोस्रो जितसँगै नेपालले ३ खेलबाट कुल ७ अंक जोड्दै समूह  ‘ए’ को शीर्ष स्थान ओगटेको छ । यसअघि नेपालले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो भने भारतसँगको खेलमा अंक बाँडेको थियो ।
भारत २ खेलबाट ५ अंकसहित दोस्रो स्थानमा रहँदा किर्गिस्तान ३ अंकसहित तेस्रो स्थानमा छ ।

सोमबार हुने भारत र किर्गिस्तानबीचको खेलले यस समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुंगो लगाउने छ ।
समूह ‘बी’ बाट बलिया टोलीहरू कजाखस्तान र इरानले यसअघि नै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरिसकेका छन् । अब सेमिफाइनलमा नेपालले समूह ‘बी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्ने सम्भावना छ ।

नेपाली टोलीको उच्च मनोबल र घरेलु दर्शकको साथले गर्दा यस पटक नेपालले च्याम्पियनसिपको उपाधि जित्ने बलियो आशा जगाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.