
विराटनगर । विराटनगरमा जारी छैटौँ मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली विराटनगरको टीडब्लसीवाई सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा विराटनगरले सुनसरी पकलीको सशस्त्र प्रहरी बल (एपीएफ) २–१ गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
विराटनगरको जितमा दुवै गोल अमृत मिश्रले गरे । खेलको प्लेयर अफ द म्याच मिश्रले २ हजार १ सय रुपैयाँ प्राप्त गरे । खेलको २३ औँ मिनेटमा अमृतले डिबक्सभित्रबाट उत्कृष्ट प्रहार गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । तर, विराटनगरको त्यो खुसी धेरै समय टिक्न सकेन ।
अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै २९ औँ मिनेटमा विराटनगरका सुजन चौधरीको खुट्टामा लागेर आत्मघाती गोल भएपछि खेल १–१ गोलको बराबरीमा पुग्यो । विराटनगरले ३३ औँ मिनेटमा पुनः अग्रता लियो । शिशिर लेखीले निकालेको क्रस पासलाई सदुपयोग गर्दै अमृतले व्यक्तिगत दोस्रो गोल गरे ।
प्रतियोगिताअन्तर्गत मंगलबार सुनसरीको इनरुवा फुटबल क्लब र विराटनगर रानीको लालीगुराँस स्पोर्टिङ क्लबबीच खेल हुनेछ ।



















