
इटहरी । इटहरीमा पार्किङ गरेर राखिएको मोटरसाइकल शुक्रबार दिनदहाडै चोरी भएको छ । इटहरी–विराटनगर सडक खण्डअन्तर्गत कामना सेवा विकास बैंक नजिकको गल्लीबाट को ३० प ९८६२ रहेको रातो–कालो रङको बजाज पल्सर मोटरसाइकल चोरी भएको हो ।
मोटरसाइकलका धनी मोरङको सुन्दरहरैँचा विराटचोकका दीपक खत्री इटहरी–विराटनगर लाइनमा रहेको बैंकको गल्लीमा दिउँसो २ बजेतिर पार्किङ गरेर खाजा खान गएका थिए । खाजा खाएर केही समयपछि फर्किँदा मोटरसाइकल त्यहाँ नभेटिएको र खोजी गर्दा पनि फेला नपरेको उनले बताए ।
खत्रीले हराएको मोटरसाइकल खोजीका लागि सहयोग गर्न सबैमा अपिल गरेका छन् । फेला परेमा आफ्नो मोबाइल नम्बर ९८१७३५५३३१ मा सम्पर्क गरिदिन उनले सबैमा अनुरोध गरेका छन् । खत्रीले इलाका प्रहरी कार्यालय इटहरीमा निवेदन पनि दिएका छन् । ‘चोरी भएको मोटरसाइकल आसपासका क्षेत्रमा खोजी गर्दा पनि फेला परेन,’ उनले भने ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले चोरी भएको मोटरसाइकलको खोजी भइरहेको बताए । पछिल्लो समय इटहरीबाट मोटरसाइकल चोरी हुने क्रम बढिरहेको छ । प्रहरीका अनुसार चोरीमा ४ जना संलग्न रहेको अनुमान छ ।
सीसी क्यामेरा फुटेज हेर्दा २ जना अलि अघि गएर बसेको र २ जनाले मोटरसाइकल चोरी लगेर लगेको देखिने प्रहरीको भनाइ छ । चोरीमा संलग्नहरुले मास्क लगाएका छैनन् । मास्क नलगाएका कारण मोटरसाइकल चोरी गर्नेहरुको पहिचान गर्न सजिलो हुने डीएसपी हमालले बताए ।




















