मोरङमा लागुऔषध ओसारपसारको अनौठो शैली : कन्डमभित्र राखेर मलद्वारमा लुकाइयो, दिसा गराएर निकालियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २४, आइतबार ११:४२

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित गोल चोकबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जना युवक पक्राउ परेका छन् ।

लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले उर्लाबारी नगरपालिका–६ का २९ वर्षीय केशव श्रेष्ठ र उर्लाबारी–५ का २४ वर्षीय निश्चल गुरुङलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाले शरीरभित्र मलद्वारमा लुकाएर राखेको लागुऔषध दिसा गराएर बाहिर निकालिएको थियो ।

Advertisement

प्रहरीले नियन्त्रणमा लिएपछि दुवै जनाले पारदर्शी कन्डमभित्र कालो प्लाष्टिकमा प्याक गरेर मलद्वारमा लागुऔषध लुकाएको बताएका थिए । त्यसपछि दुवै जनालाई मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगेर चिकित्सकीय निगरानीमा ‘दिसा गराउने औषधि’ सेवन गराइएको थियो । शनिबार साँझ पौने ६ बजेतिर दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश १–०२–०५० प १९६० नम्बरको मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मोटरसाइकलमा सवार रहेका उनीहरुलाई शंकास्पद गतिविधिका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रारम्भिक सोधपुछकै क्रममा श्रेष्ठ र गुरुङले मलद्वारमा खैरो हेरोइन लुकाएको बताएपछि तत्काल अस्पताल लगिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

उनका अनुसार सुरुमा औषधि सेवन गराए पनि दिसा नलागेपछि दुवै जनालाई इलाका प्रहरी कार्यालय उर्लाबारी लगिएको थियो । प्रहरी कार्यालयमा राखिएकै अवस्थामा आइतबार बिहान करिब ३ः३० बजेतिर दुवै जनाले दिसा गर्दा शरीरबाट शंकास्पद वस्तु बाहिर निस्किएको मिश्रको भनाइ छ । उनका अनुसार पारदर्शी कन्डमभित्र कालो पोलिथिनमा बेरिएको अवस्थामा खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको हो ।

श्रेष्ठको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० (प्लाष्टिकबाहेक १४ ग्राम ७२०) मिलिग्राम र गुरुङको मलद्वारबाट प्लास्टिकसहित ११ (प्लाष्टिकबाहेक ९ ग्राम ४००) ग्राम खैरो हेरोइन निस्किएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले लागुऔषधलाई अत्यन्तै गोप्य तरिकाले शरीरभित्र लुकाएर ओसारपसार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मलद्वारमा कन्डम र पोलिथिन प्रयोग गरेर प्याकिङ गरिएको अवस्थाले लागुऔषधको ओसारपसारमा तस्करहरूले नयाँ र जोखिमपूर्ण तरिका अपनाउन थालेको प्रष्ट हुने मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।

मोरङ प्रहरीले जिल्लामा लागुऔषधविरुद्धको महाअभियान सञ्चालन गरिरहेको छ । लागुऔषधले समाज, परिवार र व्यक्तिगत जीवनलाई तहसनहस बनाएपछि प्रहरी सक्रियता बढाउनुका साथै महाअभियान सञ्चालन गरेर सबै पक्षलाई सचेत गराउने काम भइरहेको जानकारी कटवालले दिए । उनका अनुसार अभियान जारी रहँदा लागुऔषध नियन्त्रणमा प्रहरीले उल्लेख्य सफलता हासिल गरिरहेको छ ।

उर्लाबारीबाट दुई जना पक्राउ परेको घटनाले लागुऔषध तस्करीको नयाँ शैलीका बारेमा उजागर भएको छ । त्योसँगै प्रभावकारी अनुसन्धान विधिकै कारण जोखिमपूर्ण तवरबाट शरीरमा लुकाएर ओसारपसार भइरहेको लागुऔषध पत्ता लगाउन र त्यसको धन्दामा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

लागुऔषध ओसारपसारमा प्रयोग गरिएको प्रदेश १–०२–०५० प १९६० नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । मोटरसाइकल चालक केशव श्रेष्ठ हुन् । दुवै जनाले प्रयोग गर्ने मोबाइल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मोबाइलका आधारमा अनुसन्धान गरेर लागुऔषध कारोबारमा संलग्न गिरोहका अन्य सदस्य पत्ता लगाउन सजिलो हुने प्रहरीको भनाइ छ ।

पक्राउ परेकाको मोबाइल अध्ययन गरेपछि लागुऔषध कारोबारसँग सम्बन्धित सम्पर्क, लेनदेन वा अन्य संलग्न व्यक्तिहरूको बारेमा पत्ता लगाउन प्रहरीलाई सहज हुनेछ । एसपी कटवालले लागुऔषध लुकाउने शैली अत्यन्तै जोखिमपूर्ण र स्वास्थ्यका दृष्टिले पनि खतरनाक रहेको जनाए । ‘शरीरभित्र विशेष गरी मलद्वारमा लागुऔषध लुकाउँदा आपतकालीन अवस्थासमेत सिर्जना हुन्छ । ज्यान जोखिममा पर्छ । यसरी ओसारपसार गर्नु भनेको आफ्नो काल आफैंले निम्त्याउनु हो,’ उनले भने ।

बेलैमा चिकित्सकीय निगरानीमा प्रक्रिया अघि बढाइएकाले दुवै जनाको ज्यान जोगिएको जानकारी कटवालले दिए । लागुऔषध ओसारपसारमा शरीरभित्र लुकाउने शैली अपनाइनु गम्भीर चुनौतीका रूपमा लिइएको छ । तस्करहरूले अपाउन थालेको नयाँ तरिका लागुऔषध नियन्त्रणको प्रमुख चुनौती बनेको हो ।

‘लागुऔषधको धन्दा सडक वा सीमासम्म सीमित नरही शरीरभित्र लुकाउने जटिल र खतरनाक शैलीमा विकसित भइरहेको देखिन्छ । यस्तो धन्दामा संलग्न व्यक्तिहरूले अत्यन्तै जोखिमपूर्ण तरिका अपनाउने भएकाले नियन्त्रण र अनुसन्धान दुवैतर्फ प्रहरीले सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको छ,’ एसपी कटवाल भन्छन् । पक्राउ परेकामाथि गहिराइसम्म अनुसन्धान गरेर लागुऔषध कारोबारीको सञ्जाल पत्ता लगाइने उनले बताए ।

पक्राउ परेका श्रेष्ठ र गुरुङलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखेर इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । पक्राउ परेकाहरुले लागुऔषध कसको योजनामा र कहाँबाट ल्याइएको हो तथा कसलाई पुर्‍याउने योजना थियो वा आफैंले कारोबार गर्न ल्याएका हुन् भन्ने बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय इन्स्पेक्टर वलीको नेतृत्वमा उर्लाबारी तथा आसपासका स्थानमा लागुऔषध नियन्त्रणका लागि प्रहरी सक्रिय बनेको छ । लागुऔषध नियन्त्रणमा उर्लाबारी प्रहरीले उल्लेख्य सफलता हासिल पनि गरिरहेको छ । यसअघि प्रहरीले उर्लाबारीमै लागुऔषध भण्डारण गरिएको स्थानमा छापा हानेर ठूलो परिमाणमा बरामद गरेको थियो ।

मोरङको उर्लाबारीबाट ठूलो मात्रामा प्रतिबन्धित औषधि र लागुऔषध बरामद, कारोबारी पक्राउ

तपाइको प्रतिक्रिया
‘सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान हुन्छ, बेलायतको मध्यस्थता खोजेका होइनौं’
मोरङमा लागुऔषध ओसारपसारको अनौठो शैली : कन्डमभित्र राखेर मलद्वारमा लुकाइयो, दिसा गराएर निकालियो
  सुनको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
नेपाल एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा
नेपाल एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा
परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरिएको
जफत गरिएका मोबाइल नष्ट गरिएको विरोधमा सिरहामा विद्यार्थीको प्रदर्शन 
रास्वपा झापा सभापतिमा भण्डारी
जीपी कोइराला ५–ए साइड महिला हक्कीको उपाधि त्रिभुवन आर्मीलाई
जीपी कोइराला ५–ए साइड महिला हक्कीको उपाधि त्रिभुवन आर्मीलाई
रास्वपा मोरङको सभापतिमा भरत कँडेल निर्वाचित
कामधेनुका कर्मचारी जोडिएको आत्महत्या दुरुत्साहन मुद्दा, झा र खड्काविरुद्ध पक्राउ पुर्जी जारी
लेबनानमा इजरायली हमला, सैन्य अधिकारीसहित १२ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.