विश्वकप उद्घाटनमा मेक्सिकोको जित, तीन जना खेलाडीलाई रातो कार्ड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २९, शुक्रबार ०६:११

काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले विजयी सुरुवात गरेको छ । मेक्सिको सिटीस्थित ऐतिहासिक एज्टेका रंगशालामा शुक्रबार बिहानका राति सम्पन्न खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।

तीन फरक विश्वकप आयोजना गर्ने विश्वकै पहिलो रंगशालाको कीर्तिमान बनाएको एज्टेकामा घरेलु समर्थकको उल्लेख्य उपस्थितिबीच मेक्सिकोका जुलियन क्विनोनेस र अनुभवी फरवार्ड राउल जिमेनेजले एक–एक गोल गरे । मेक्सिकोले खेलको नवौं मिनेटमै अग्रता बनाएको थियो ।

Advertisement

दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सबाट आएको बल डिफेन्डरले नियन्त्रण गर्न नसक्दा इरिक लिराले मिलाइदिएको पासमा क्विनोनेसले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । ४२औं मिनेटमा क्विनोनेसको अर्को प्रहार भने गोलपोस्टमा लागेर फर्किएको थियो ।

दोस्रो हाफमा राउल जिमेनेजले अर्को गोल थपेपछि मेक्सिकोले जित सुनिश्चित गर्यो । खेल प्रतिस्पर्धात्मकसँगै तनावपूर्ण पनि बन्यो । उद्घाटन खेलमै रेफ्रीले तीन जना खेलाडीलाई रातो कार्ड दिएका छन् ।

दक्षिण अफ्रिकाका सेफेलो सिथोलले ४९औं मिनेटमा र थेम्बा ज्वानेले ८४औं मिनेटमा रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा सीमित भएको थियो । यता इन्जुरी समयतिर मेक्सिकोका सेजर मोन्टेस पनि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।

दुई गोल, घरेलु टोलीको प्रभावशाली प्रदर्शन र तीन रातो कार्डले विश्वकप २०२६ को उद्घाटन खेल रोमाञ्चक एवं तनावपूर्ण बनेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.