
विराटनगर । नेपालले भारतीय केरामा विषादीको जोखिम देखाउँदै आयातमा कडाइ गरेपछि सुरु भएको व्यापारिक तनावको असर अहिले नेपाली चिया उद्योगमा देखिएको छ ।
भारतीय पक्षले गुणस्तर परीक्षणको नाममा नयाँ गैरभन्सार अवरोध खडा गरेपछि नेपालको ७० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको चिया उद्योग गम्भीर संकटमा परेको उद्योगीहरूको गुनासो छ । नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार चिया क्षेत्रमा जमिनको मूल्यबाहेक नै ७० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ ।
यो क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा एक लाखभन्दा बढी मानिसको रोजगारी जोडिएको छ । भारतले वैशाख १८ गतेदेखि लागू गरेको नयाँ परीक्षण प्रक्रियाले चिया निर्यात प्रभावित भएपछि उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् ।
उद्योगीहरूका अनुसार भारतले प्रत्येक ट्रकको प्रयोगशाला परीक्षण अनिवार्य बनाएपछि २१ दिनसम्म चिया निर्यात पूर्ण रूपमा रोकिएको थियो । पछि ‘र्यान्डम स्याम्पलिङ’ गर्ने सहमति भए पनि भारतीय अधिकारीहरूले निर्यातकर्ताको गोदाममै पुगेर नमुना संकलन गर्ने र रिपोर्ट नआएसम्म चिया बाहिर निकाल्न रोक्ने अभ्यास जारी राखेका छन् । एक महिनाअघि लगिएका नमुनाको रिपोर्टसमेत नआएको उनीहरूको भनाइ छ ।
यसका कारण उद्योगहरूमा उत्पादन रोकिएको छ । इलामको सूर्योदय टी प्रोडक्ट एसोसिएसनका महासचिव गोपाल कट्टेलका अनुसार इलाम र झापाका करिब १०० उद्योगले दैनिक पाँच लाख किलो हरियो पत्ती प्रशोधन गर्दै आएका थिए । अहिले उद्योग बन्द हुँदा दैनिक करिब दुई करोड रुपैयाँ बराबरको हरियो पत्ती बगानमै खेर गइरहेको छ ।
हाल इलामका ६५ अर्थोडक्स र झापाका ३० सीटीसी उद्योग गरी ९५ भन्दा बढी उद्योग बन्द छन् । कारखानामा १२ लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ भने लाखौँ किलो चिया भारतीय आयातकर्ताको गोदाममै रोकिएको छ ।
नेपालमा करिब १५० वर्षअघि इलाम र झापाबाट सुरु भएको चिया खेती अहिले इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरसम्म फैलिएको छ । चिया तथा कफी विकास बोर्डका अनुसार देशभर ३० हजार हेक्टरभन्दा बढी क्षेत्रमा चिया खेती हुँदै आएको छ । यसबाट ३० हजारभन्दा बढी किसान परिवार प्रत्यक्ष रूपमा आश्रित छन् ।
इलाममा वार्षिक ६५ लाख किलो अर्थोडक्स तथा झापामा दुई करोड किलोभन्दा बढी सीटीसी चिया उत्पादन हुँदै आएको छ । उत्पादनको ठूलो हिस्सा भारतीय बजारमा निर्भर रहेकाले भारतले खडा गरेको अवरोधले उद्योग, किसान र श्रमिक सबैलाई प्रभावित बनाएको छ ।
उद्योगीहरूले समस्या समाधानका लागि नेपाल सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् । समयमै निकास ननिस्किए डेढ शताब्दीदेखिको नेपाली चिया उद्योगको अस्तित्व नै संकटमा पर्न सक्ने उनीहरूको चेतावनी छ ।



















