भारतीयलाई पक्राउ गर्न गोली प्रहार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ८, सोमबार ०७:३६

सिरहा । सिरहामा भारतीयलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै गोली प्रहार गरी एक भारतीय लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार आइतबार साँझ सिरहा नगरपालिका–२१ लगडीगोठमा भएको कारबाहीमा भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ का छोटु भनेर चिनिने २८ वर्षीय रञ्जितकुमार पासवान पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेशपुर पतार, जिल्ला प्रहरी कार्यालय सिरहा र लागुऔषध नियन्त्रण ब्युरो गोलबजारको संयुक्त टोली उनलाई नियन्त्रणमा लिन पुगेको थियो ।

Advertisement

सो क्रममा पासवानसहितको समूहले ढुंगामुढा गर्दै भारततर्फ भाग्ने प्रयास गरेपछि अवस्था नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर र एक राउन्ड गोली प्रहार गर्नु परवेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट पासवानको खुट्टाको पिँडुलामा चोट लागेको छ ।

ढुंगामुढाबाट एक प्रहरी जवान पनि घाइते भएका छन् । दुवै जनाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलबाट ९२ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.