पत्रकारका नाममा वडाध्यक्षलाई हातपात गर्ने महिला पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ८, सोमबार ०९:४८

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा भएको सार्वजनिक कार्यक्रममा पुगेर वडाध्यक्षमाथि हातपात र दुर्व्यवहार गरेको घटनामा संलग्न पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखेको छ ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटा सहभागी भएको सार्वजनिक कार्यक्रममा पुगेर पत्रकारको नाममा कुँवरले देवकोटालाई धम्क्याए, हातपात र दुर्व्यवहार गरेको भिडियो नै सार्वजनिक भएको छ । कार्यक्रममा सुरुमा वडाध्यक्ष देवकोटा र कुँवरबीच विवाद भएको थियो । सोही क्रममा कुँवरले वडाध्यक्षमाथि हातपात र दुर्व्यवहार गरेकी हुन् । घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पत्रकारका नाममा भइरहेका उच्छृङ्खल गतिविधिको सर्वत्र विरोध भइरहेको छ ।

Advertisement

कञ्चनपुर प्रहरीका प्रवक्ता एवं डीएसपी टेकबहादुर रावतले कुँवरलाई पक्राउ गरी अभद्र व्यवहार शीर्षकमा अनुसन्धान अघि बढाइएको जानकारी दिए । उनका अनुसार वडाध्यक्ष देवकोटाले घटनाबारे किटानी जाहेरी दिएका छन् । सोही आधारमा कानुनी प्रक्रिया अघि बढाइएको हो ।

घटनापछि कुँवरले भने सामाजिक सञ्जाल फेसबुकमा भिडियो राख्दै वडाध्यक्षले उल्टै आफूलाई दुर्व्यवहार गरेको दाबी गरेकी थिइन् । प्रहरीले घटनाको वास्तविक कारण र परिस्थितिको विस्तृत अध्ययन भइरहेको बताएको छ । नेपाल पत्रकार महासंघ कन्चनपुरकी सदस्यसमेत रहेकी कुवँरले पत्रकारिताको बदनाम गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.