दुई गोलले पछि परेको मोरक्कोको शानदार पुनरागमन, हाइटीमाथि ४–२ को जित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ११, बिहीबार ०६:२५

अमेरिका । अमेरिकामा जारी फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार बिहान भएको समूह चरणको खेलमा मोरक्कोले हाइटीलाई ४–२ गोलअन्तरले पराजित गरेको छ ।

खेलको पहिलो हाफमै दुई गोलले पछि परेको अवस्थाबाट फर्किंदै मोरक्कोले प्रभावशाली जित निकालेर अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । खेलको १०औँ मिनेटमा मोरक्कोले आत्मघाती गोल बेहोरेपछि हाइटीले सुरुआती अग्रता बनाएको थियो ।

Advertisement

सुरुदेखि नै दबाबमा परेको मोरक्कोले बराबरी गोलका लागि लगातार प्रयास गरिरहँदा ३९औँ मिनेटमा अचरफ हाकिमीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । तर, बराबरीको खुसी धेरै बेर टिक्न सकेन । ४३औँ मिनेटमा विल्सन इसिडोरले गोल गर्दै हाइटीलाई पुनः २–१ को अग्रता दिलाए ।

पहिलो हाफ सकिनै लाग्दा मोरक्कोले अर्को महत्वपूर्ण गोल निकाल्न सफल भयो । अतिरिक्त समयमा इस्माइल साइबेरीले गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्‍याएपछि दुवै टोली बराबरी अवस्थामा विश्राममा गएका थिए ।

दोस्रो हाफको अधिकांश समय दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल निकाल्न सकेनन् । खेल निर्णायक मोडमा पुगिरहेका बेला ७८औँ मिनेटमा सफियान रहिमीले गोल गर्दै मोरक्कोलाई पहिलो पटक अग्रता दिलाए । त्यसपछि दबाबमा परेको हाइटी खेलमा फर्किन नसक्दा ८९औँ मिनेटमा यासिन गेस्मीले अर्को गोल थपे र मोरक्कोको जित सुनिश्चित गरे ।

बाँकी समयमा थप गोल हुन नसकेपछि खेल ४–२ को नतिजासहित मोरक्कोको पक्षमा समाप्त भयो । यस जितसँगै मोरक्कोले अन्तिम १६ मा स्थान पक्का गरेको छ भने हाइटीको यात्रा समूह चरणमै टुंगिएको छ । लगातार संघर्षपूर्ण प्रदर्शन गरे पनि नतिजा निकाल्न नसक्दा हाइटी प्रतियोगिताबाट बाहिरिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.