
काठमाडौं । अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि भिसा शुल्कमा पुनः उल्लेख्य वृद्धि गरेको छ। पछिल्लो निर्णयअनुसार विद्यार्थी भिसाको आवेदन शुल्क २ हजार अस्ट्रेलियन डलरबाट बढाएर २ हजार ५०० डलर पुर्याइएको छ।
यस पटक सरकारले अङ्ग्रेजी भाषा पाठ्यक्रम पढ्न चाहने विद्यार्थीहरूका लागि पहिलो पटक छुट्टै शुल्क संरचना लागू गर्दै २ हजार ५० अस्ट्रेलियन डलर निर्धारण गरेको छ। यसअघि भाषाका विद्यार्थीहरूले पनि सामान्य विद्यार्थी सरह नै शुल्क तिर्दै आएका थिए। व्यवसायीहरूले भाषा पाठ्यक्रमको शुल्क घटाउन माग गरे पनि सरकारले उल्टै बढाएको हो। यद्यपि, प्रशान्त महासागर क्षेत्र र आसियान मुलुकका विद्यार्थीलाई भने केही छुट दिइएको छ।
सबैभन्दा ठुलो वृद्धि ‘टेम्पोररी ग्रेजुएट भिसा’ मा देखिएको छ। पढाइ सकिएपछि अस्ट्रेलियामा बसेर काम गर्न पाइने यो भिसाको शुल्क २५ प्रतिशतले बढेर ५ हजार ७५० अस्ट्रेलियन डलर पुगेको छ। सन् २०२४ को सुरुमा २ हजार ३०० डलर मात्र रहेको यो शुल्क मार्चमा दोब्बर (४,६०० डलर) बनाइएको थियो । हालको वृद्धिसँगै यो शुल्क वर्षको सुरुको तुलनामा १५० प्रतिशत महँगो भएको छ ।
सरकारको यो कदमप्रति अस्ट्रेलियाका उच्च शिक्षा प्रदायक र विद्यार्थी संगठनहरूले कडा आपत्ति जनाएका छन् । भिसा शुल्कमा गरिएको यो वृद्धले अस्ट्रेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थीका लागि थप महँगो गन्तव्य बनाएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।

























