सामाजिक सञ्जालको देखासिकीले युवामा बढ्दै एन्जाइटी र डिप्रेसन

मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ असार १८, बिहीबार १८:३०
तस्बिर : एआई

विराटनगर । विराटनगर महानगरपालिका— १० की २२ वर्षीया एक युवती राति अबेरसम्म टिकटक र इन्स्टाग्रामका रिल्सहरू स्क्रोल गरिरहन्छिन् ।

उनका साथीहरू कोही दमकका महँगा क्याफेमा कफीको फोटो खिचिरहेका, कोही भेडेटार र इलामका चियाबारीमा रमाइरहेका, त कोही काठमाडौं वा विदेशतिर विलासी जीवन बिताइरहेका देख्छिन् । यी भिडियो र तस्बिरहरू हेरिसकेपछि ती युवतीलाई आफ्नो वास्तविक जीवन एकदमै खल्लो र अर्थहीन लाग्न थाल्छ ।

उनी भन्छिन्, ‘सबैजना कति खुसी छन्, कति राम्रो ठाउँ घुमेका छन् जस्तो लाग्छ । मेरो मात्र केही प्रगति नभएको हो कि, म मात्र पछि परेको हो कि जस्तो महसुस हुन्छ । अनि आफैंसँग दिक्क लाग्छ ।’ यो कथा ती युवतीको मात्रै हैन । कोशी प्रदेशका विराटनगर, इटहरी, धरान, दमकजस्ता सहरदेखि ग्रामीण भेगका प्रविधिमा पहुँच भएका हजारौं नेपाली युवाहरू आज यही मानसिक तनावबाट गुज्रिरहेका छन् ।

मनोविज्ञानको भाषामा यसलाई ‘फियर अफ मिसिङ आउट’ अर्थात् छुट्ने वा पछि परिने डर भनिन्छ । टिकटक र इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा मानिसहरू आफ्नो जीवनको सबैभन्दा उत्कृष्ट, चमकदमकपूर्ण र फिल्टर गरिएको पाटो मात्र पोस्ट गर्छन् । तर, युवाहरूले त्यसलाई नै पूर्ण सत्य मानिदिँदा गम्भीर मानसिक दबाब सिर्जना भइरहेको छ ।

यो समस्या भावनात्मक अनुमान मात्र नभएर विभिन्न सरकारी र गैरसरकारी सर्वेक्षणहरूले देखाएको भयावह रूप हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले देशभरिका सातै प्रदेशमा विस्तृत रूपमा अध्ययन गरेर सन् २०२० मा पहिलो राष्ट्रिय स्तरको मानसिक स्वास्थ्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रतिवेदन अनुसार किशोरकिशोरीमा मानसिक स्वास्थ्य सम्बन्धी समस्याको व्यापकता सबैभन्दा बढी कोशी प्रदेशमा ११.४ प्रतिशत पाइएको थियो । यस्तै, वयस्कहरूमा पनि कोशी प्रदेशमा मानसिक समस्याको दर १३.९ प्रतिशत उच्च देखिएको थियो । जसको एउटा मुख्य कारक सामाजिक सञ्जालको बढ्दो प्रयोग र त्यसले ल्याएको आधुनिक जीवनशैली हो ।

वास्तवमा सामाजिक सञ्जालको देखासिकीले युवामा एन्जाइटी र डिप्रेसनको समस्या बढ्दै गइरहेको पाइन्छ । त्यसैगरी सन् २०२३ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को स्वीकृतिमा नेपाली युवाहरूमाझ गरिएको अध्ययनको नतिजा ‘जर्नल अफ कलेज अफ मेडिकल साइन्स’को प्रतिवेदन अनुसार ४५.९ प्रतिशत किशोरकिशोरीहरू सामाजिक सञ्जालको कुलतमा परेको देखाएको छ । उक्त अनुसन्धानले सामाजिक सञ्जालको लत र डिप्रेसन वा एन्जाइटीबीच सिधा र बलियो सम्बन्ध रहेको समेत प्रमाणित गरेको छ ।

डिजिटल पहुँचको तीव्र वृद्धिलाई हेर्ने हो भने डिजिटल २०२६ः नेपालको पछिल्लो रिपोर्ट अनुसार नेपालको कुल जनसंख्याको ५० प्रतिशत अर्थात् १ करोड ४८ लाख मानिसहरू सक्रिय रूपमा सामाजिक सञ्जाल चलाउने गरेको देखिन्छ । देशमै काठमाडौं उपत्यकापछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू सबैभन्दा धेरै कोशी प्रदेशको मोरङमा ६.५ प्रतिशत रहेका छन् । जसले गर्दा यहाँका युवाहरू उक्त भर्चुअल दबाबको मुख्य केन्द्रमा छन् ।

सामाजिक सञ्जालले सिर्जना गरेको नक्कली संसारले युवाहरूको दिमागमा कसरी काम गरिरहेको छ भन्ने विषयमा नेपाल सरकारका पूर्वसचिवसमेत रहेका मनोचिकित्सक डा. रोशन पोखरेल भन्छन्, ‘सामाजिक सञ्जालमा देखिने ‘पर्फेक्ट’ जीवनले युवाहरूमा आफू कमजोर भएको हीनताबोध गराउँछ । अरूको चमकदमकसँग आफ्नो वास्तविक जीवन तुलना गर्दा मस्तिष्कमा तनाव उत्पन्न हुन्छ । यसले गर्दा युवाहरूमा एन्जाइटी, अनिद्रा र डिप्रेसनको समस्या निकै बढेको छ ।’

उपचारका लागि ओपीडीमा आउने धेरै युवाहरूको मानसिक तनावको एउटा मुख्य जड सामाजिक सञ्जाल र त्यहाँबाट पैदा हुने तुलनात्मक सोच नै पाइएको पोखरेल बताउँछन् । उनका अनुसार टिकटक र इन्स्टाग्राममा पाउने लाइक्स र कमेन्ट्सले मस्तिष्कमा डोपामाइन हर्मोन क्षणिक रूपमा बढाउँछ । जब त्यो लाइक्स घट्छ वा अरूको धेरै देखिन्छ अनि युवाहरू मानसिक रूपमा निराश हुने उनले बताए ।

यही देखासिकी र मानसिक दबाब भोगिरहेका छन् इटहरीका २४ वर्षीय सुमित श्रेष्ठ (परिवर्तित नाम) । बजारकै एक कलेजमा बीबीए पढ्दै गरेका सुमितले आफ्ना साथीहरूले इन्स्टाग्राममा हाल्ने महँगा ग्याजेट, ब्रान्डेड लुगा र नाइट लाइफका फोटो हेरेर आफू पनि त्यस्तै देखिनुपर्ने मानसिक दबाब महसुस गरे ।

आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, ‘घरको आर्थिक अवस्था सामान्य छ । तर, साथीहरू माझ कुल देखिनकै लागि मैले बुबाआमासँग झगडा गरेर महँगो आइफोन किन्न लगाएँ । क्याफेमा गएर फोटो खिच्नकै लागि पैसा खर्च हुन थाल्यो । अहिले सोच्दा लाग्छ, म एउटा नक्कली पहिचान बनाउन आफ्नै परिवारलाई मानसिक दबाब दिइरहेको थिए ।’ यो देखासिकीको चक्रले युवाहरूलाई आर्थिक रूपमा मात्र नभएर भावनात्मक रूपमा पनि खोक्रो बनाउँदै लगेको छ ।

सञ्जालको मनोवैज्ञानिक दबाबबाट उम्कन युवा, परिवार र समाज सबै सचेत हुन जरुरी भइसकेको मनोचिकित्सकहरु बताउँछन् । मिसन माइन्ड केयर मानसिक स्वास्थ्य परामर्श केन्द विराटनगरकी परामर्श मनोवैज्ञानिक करुणा सुवेदीका अनुसार युवाहरूले दिनभरिमा कम्तीमा २—३ घण्टा सामाजिक सञ्जालबाट पूर्ण रूपमा टाढा बस्ने बानी बसाल्नुपर्छ । विशेषगरी सुत्नुअघि र उठ्ने बित्तिकै मोबाइल नहेर्नु मानसिक स्वास्थ्यका लागि निकै फाइदाजनक हुने उनले बताइन् ।

उनी भन्छिन्, ‘सञ्जालमा देखिने जीवन फिल्टर गरिएको हुन्छ । त्यहाँ कसैले पनि आफ्नो दुःख वा असफलता पोस्ट गर्दैन भन्ने यथार्थलाई युवाहरूले मनन गर्न जरुरी छ । अरूले के गर्दैछन् भन्ने चासो छोडेर आफू जे गर्दैछु त्यसमै रमाउने गर्नुपर्छ । यसका लागि किताब पढ्ने, खेलकुदमा लाग्ने वा कोशीकै सुन्दर प्रकृति जस्तै भेडेटार, जेफाले, वा नजिकैका पार्कहरूमा स्क्रिनबिना समय बिताउन सकिन्छ । जसको पोस्ट हेरेर मनमा हीनताबोध वा ईर्ष्या लाग्छ, त्यस्ता अकाउन्टहरूलाई बेलैमा अनफलो वा म्युट गरिदिनु नै बुद्धिमानी हुन्छ ।’

प्रविधि र सामाजिक सञ्जाल आफैँमा खराब होइनन् । तर, यसको प्रयोग कसरी गर्ने भन्ने कुरा युवाहरूको आफ्नै हातमा छ । युवाहरू भोलिका देश विकासका प्रमुख खम्बा हुन् । टिकटकका छोटा भिडियो र इन्स्टाग्रामका पर्फेक्ट देखिने तस्बिरहरूको पछि लागेर आफ्नो अमूल्य मानसिक शान्ति गुमाउनु भन्दा स्क्रिनको नक्कली संसारबाट बाहिर निस्केर वास्तविक जीवनको सुन्दरता र आफ्ना सम्भावनाहरूलाई चिन्नु नै आजको वास्तविक समाधान भएको सकोकारवालाको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.