
एजेन्सी । पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा आत्मघाती कार बम विस्फोट र बन्दुकधारीको आक्रमणमा परी ३१ जनाको मृत्यु भएको छ। मृतकमध्ये १६ जना प्रहरी कर्मचारी रहेको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्। आक्रमणमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
शुक्रबार दिउँसो खैबर पख्तुनख्वा प्रान्तको कोहाटस्थित पुरानो प्रहरी लाइन परिसरमा प्रहरी र उनीहरूका परिवारका सदस्यहरू मस्जिदमा प्रार्थना गरिरहेका बेला विस्फोटक पदार्थले भरिएको कार लिएर आएका एक आक्रमणकारीले परिसरमा कार ठोक्काएका थिए। त्यसलगत्तै हतियारधारी समूह परिसरमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएको थियो।
करिब दुई लाख २० हजार जनसंख्या रहेको कोहाटको उक्त प्रहरी परिसर जिल्ला तहको मुख्यालय हो। त्यहाँ आतंकवाद नियन्त्रण विभाग, विशेष शाखालगायत विभिन्न प्रहरी इकाइका कार्यालय छन्। प्रहरीका अनुसार केही आक्रमणकारी अझै विशेष शाखा क्षेत्रमा लुकेर बसेका छन्। उनीहरू र सुरक्षाकर्मीबीच रातिदेखि नै गोली हानाहान भइरहेको छ। आक्रमणकारीको यकिन संख्या भने खुलेको छैन।
विस्फोटको तीव्रताले मस्जिदको बाहिरी पर्खाल र छत ध्वस्त भएको छ। घटनास्थलका तस्बिरमा मस्जिदभित्र इँटा र कङ्क्रिटका भग्नावशेष थुप्रिएको तथा भित्तामा क्षति पुगेको देखिएको छ। पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले घटनाको भर्त्सना गर्दै मृतकप्रति शोक व्यक्त गरेका छन्। उनले उद्धार तथा राहत कार्य तीव्र बनाउन र घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्।
यस घटनाको अघिल्लो दिन हाङ्गु जिल्लामा सडक किनारमा भएको बम विस्फोटमा ६ सैनिकको मृत्यु भएको थियो। त्यसै क्रममा सुरक्षा कारबाहीमा १० जना लडाकु मारिएको पाकिस्तानी अधिकारीहरूले बताएका छन्। पाकिस्तानले खैबर पख्तुनख्वा र दक्षिणी बलुचिस्तानमा बढिरहेका सशस्त्र आक्रमणका लागि अफगानिस्तानबाट सञ्चालन हुने भनिएका उग्रवादी समूहलाई जिम्मेवार ठहराउँदै आएको छ। अफगानिस्तानको तालिबान सरकारले भने आफ्नो भूमिबाट पाकिस्तानविरुद्ध हुने यस्ता गतिविधिमा संलग्नता अस्वीकार गर्दै आएको छ।
यस विषयलाई लिएर पाकिस्तान र अफगानिस्तानबीच तनाव बढ्दै गएको छ। पाकिस्तानले अफगानिस्तानमा रहेका लडाकुलाई लक्षित गरी हवाई हमला गर्दै आएको दाबी गरेको छ। गत जुनमा पूर्वी अफगानिस्तानमा भएका पाकिस्तानी हवाई हमलामा दर्जनौँ सर्वसाधारण मारिएको तालिबान सरकार र संयुक्त राष्ट्रसंघले बताएका थिए।



















