
विराटनगर । खोटाङ कारागारमा कैद सजाय भोगिरहेका एक कैदीको मृत्यु भएको छ । साकेला गाउँपालिका–४ मात्तिमका २४ वर्षीय निशान राईको बुधबार बिहान मृत्यु भएको हो ।
कारागार प्रशासनका अनुसार मंगलबार राति खाना खाएर सुतेका राईले राति १२ः४५ बजे सुरु हुने विश्वकप फुटबल हेर्नका लागि आफूलाई उठाइदिन साथीहरूलाई भनेका थिए । सोही अनुसार राति सवा १२ बजेतिर साथीहरूले उठाउन खोज्दा उनी बेहोस अवस्थामा भेटिएका थिए ।
उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल लगिएको भए पनि चिकित्सकले बिहान १ः३० बजे मृत घोषणा गरेका थिए । कारागार कार्यालयका सूचना अधिकारी कपिन्द्र कठायतका अनुसार मृत्युको कारण खुल्न सकेको छैन ।
‘हिजो कारागारमा सुँगुर काटेर खाने कार्यक्रम थियो । निशानका दाजु पनि कारागारमै रहेकाले दुवै दाजुभाइले सँगै मासु भात खाएर सुतेका थिए,’ सूचना अधिकारी कठायतले भने, ‘फुटबल हेर्न उठाउँदा बेहोस पाइएपछि अस्पताल पुर्याएका थियौँ, तर चिकित्सकले मृत्यु भइसकेको बताए ।’
सवारी मुद्दामा अदालतबाट दोषी ठहर भएका राई २०८० साउन १२ गतेदेखि कैद सजाय भुक्तान गरिरहेका थिए । दुई वर्षको जेल सजाय पाएका उनी आगामी साउन ११ गते रिहा हुने तयारीमा थिए । सजाय सकिन केही महिना मात्र बाँकी रहँदा उनको निधन भएको हो ।
अदालतले उनलाई २०७७ सालमै दोषी ठहर गरेको भए पनि उनी २०८० मा मात्र पक्राउ परेर जेल चलान भएका थिए । मृतकको शव अहिले जिल्ला अस्पतालमा पोस्टमार्टमको प्रक्रियामा रहेको कारागार प्रशासनले जनाएको छ । पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने कारागार प्रशासनले जनाएको छ ।

























