
काठमाडौं । सम्पत्ति छानबिन आयोगले आफ्ना सबै गतिविधि स्थगित गर्ने भएको छ । सर्वोच्च अदालतले दोस्रोपटक बिहीबार काम कारबाही रोक्न अन्तरिम आदेश दिएपछि आयाेगकाे गतिविधि स्थगित भएको हाे ।
यसअघि सोमबार संयुक्त इजलासबाटजारी भएको ‘सबै काम कारबाही रोक्नु’ भन्ने आदेशको अवज्ञा गर्दै आयोगले पूर्व न्यायाधीश, संवैधानिक आयोगका पूर्व पदाधिकारी र नेपाली सेनाका पूर्वपदाधिकारीको मात्रै छानबिन रोक्ने सूचना प्रकाशित गरेको थियो ।
उक्त सूचनाविरुद्ध अधिवक्ता मनिराज उपाध्यायले दायर गरेको रिट निवेदनमामाथि बुधबार सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले फेरि अन्तरिम आदेश दिएपछि आयोगले बिहीबार सूचना प्रकाशित गरेर सबै काम रोखिएको जनाएको हो ।
आयोगले बिहीबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको मिति २०८३/३/३१ को आदेशबाट रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कसैबाट पनि सम्पत्ति विवरण संकलन र छानबिन समेतको कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी भै आएकोले यस आयोगबाट अर्को सूचना प्रकाशित नभएसम्म सम्पत्ति विवरण संकलन र छानबिन समेतका सबै काम हाल स्थगित गरीएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

























