
विराटनगर । मोरङको उर्लाबारीमा आफ्नै छोरीलाई बलात्कार (जबरजस्ती करणी) गरेको आरोपमा एक जना बाबु पक्राउ परेका छन् ।
करिब दुई वर्षअघि बालिका छोरीलाई बलात्कार गरेको घटनामा संलग्न रहेको आरोपमा ३५ वर्षीय युवक बल्ल पक्राउ परेका हुन् । प्रहरीका अनुसार घटना २०८१ साल मंसिर १५ गते बिहान ५ बजेतिरको हो ।
पक्राउ परेका बाबुले आफ्नै १५ वर्षीया छोरीलाई डर त्रास देखाएर घरको सुत्ने कोठामा बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डर र त्रासका कारण पीडित पक्ष प्रहरीसम्म पुग्न नसक्दा उजुरी भने ढिलो परेको पाइएको छ ।
छोरीलाई बलात्कार गरेको आरोप लागेका बाबुविरुद्ध बुधबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी परेको हो । आफन्तबाट जाहेरी पर्नासाथ खटिएको प्रहरी टोलीले दिउँसो २ बजेतिर ती युवकलाई पक्राउ गरेको छ ।
उनीविरुद्ध हाडनाता करणी मुद्दामा अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । घटनाको इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले विस्तृत अनुसन्धान गरिरहेको छ ।



















