आन्दोलनकारी र प्रहरीबीच रातभर झडप

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ७, बिहीबार ०६:५३

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा जारी कक्रोच आन्दोलन थप तनावग्रस्त बनेको छ । आन्दोलन उत्कर्षमा पुग्दै गर्दा बुधबार रातिदेखि बिहीबार बिहानसम्म जन्तर मन्तर क्षेत्रमा आन्दोलनकारी विद्यार्थी र प्रहरीबीच पटकपटक झडप भएको छ ।

प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा र लाठी प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा केही प्रदर्शनकारीहरूले लाठीले सुरक्षाकर्मीमाथि आक्रमण गरिरहेको देखिन्छ । दुवै पक्षबीच रातभर झडप भएको थियो ।

Advertisement

यसअघि पनि गत जुलाई २० मा संसद मार्चका क्रममा आन्दोलनकारीहरू संसद भवनको प्रवेश क्षेत्रसम्म पुगेपछि प्रहरीले लाठीचार्ज गरी भिडलाई तितरबितर पारेको थियो । त्यसयता आन्दोलन निरन्तर जारी छ ।

कक्रोज जनता पार्टीका नेता अभिजीत दीपकेले आन्दोलनलाई शान्तिपूर्ण रूपमा अघि बढाइने बताएका छन् । उनले अनशनरत सोनम वाङचुकलाई अनशन अन्त्य गर्न आग्रह गर्दै देशलाई उनको आवश्यकता रहेको उल्लेख गरेका छन् ।

बढ्दो तनावलाई ध्यानमा राख्दै भारतको गृह मन्त्रालयले पश्चिम बंगालबाट थप २० कम्पनी केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) दिल्ली पठाएको छ । कोलकाताबाट करिब दुई हजार सुरक्षाकर्मीलाई हवाई मार्गमार्फत राजधानीमा परिचालन गरिएको छ ।

सुरक्षा सतर्कता बढाइएपछि केही समयका लागि दिल्लीका १६ वटा मेट्रो स्टेसन बन्द गरिएका थिए । अवस्था केही सामान्य बनेपछि ती सबै स्टेसन पुनः सञ्चालनमा आएका छन् ।

उता, आन्दोलनका क्रममा आरएफएका एक जवानमाथि भएको आक्रमणका बारेमा दिल्ली प्रहरीले एफआईआर दर्ता गरेको छ । प्रहरीका अनुसार सार्वजनिक भएको भिडियोमा केही प्रदर्शनकारीहरूले जवानमाथि कुटपिट गर्नुका साथै आरएफएको गाडीमा ढुंगा प्रहार गरी क्षति पुर्‍याएको देखिन्छ ।

यस्तै, आन्दोलनका क्रममा विद्यार्थीमाथि भएको भनिएको आक्रमणका बारेमा दायर रिटमाथि दिल्ली उच्च अदालतमा सुनुवाइ भएको छ । अदालतले घटनासँग सम्बन्धित सबै सीसीटीभी फुटेज सुरक्षित राख्न सरकारलाई निर्देशन दिएको छ ।

राजधानी नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । आन्दोलनका थप कार्यक्रमलाई मध्यनजर गर्दै संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति अझ बढाइएको छ । तर, आन्दोलन भने उग्र बन्दै गएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×