
काठमाडौं । इरानसँगकाे युद्ध जारी रहेकै अवस्थामा अमेरिकाले साउदी अरेबियासँग आणविक ऊर्जा सम्झौता गरेको छ ।
अमेरिकाले साउदीलाई नागरिक प्रयोजनका लागि आणविक ऊर्जा कार्यक्रम विकास गर्न अनुमति दिने ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेपछि विश्वव्यापी रुपमा साउदीसँगको सम्झौतालाई चासोका साथ हेरिएको छ।
अमेरिकी ऊर्जा विभागले यसलाई शान्तिपूर्ण आणविक सहकार्य सम्झौता भएको जनाएको छ। जसले साउदीको आणविक ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूलाई व्यापक पहुँच उपलब्ध गराउने छ ।
सम्झौताको पूर्ण पाठ सार्वजनिक गरिएको छैन। तर अमेरिकी सञ्चारमाध्यमहरूले यस सम्झौताले भविष्यमा साउदी अरेबियालाई युरेनियम संवर्धन (एनरिचमेन्ट) को बाटो खुल्ला गरेको छ ।
संवर्धित युरेनियम विद्युत् उत्पादन गर्ने आणविक केन्द्रका लागि इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ भने यही सामग्रीबाट आणविक बम पनि बनाउन सकिन्छ।
विज्ञहरूकाअनुसार यदि यस्तो व्यवस्था लागू भयो भने यो अमेरिकाका लागि पहिलो उदाहरण हुनेछ। साथै, यसले पहिले नै अस्थिर रहेको मध्यपूर्वमा आणविक हतियारको विस्तार (प्रोलिफरेसन) हुने जोखिम बढाउन सक्ने चेतावनी दिएका छन्।
अमेरिकी ऊर्जा विभागले सहकार्य सम्झौतासँगै द्विपक्षीय आणविक सुरक्षा (सेफगार्ड्स) सम्झौता पनि हस्ताक्षर गरिएको जनाएको छ। विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी दुई सम्झौताले आगामी दशकौँसम्म चल्ने अर्बौँ डलर बराबरको साझेदारीका लागि कानुनी आधार तयार पार्छन्, जसले आणविक अप्रसारसहित अमेरिका र साउदीका महत्त्वपूर्ण आर्थिक तथा रणनीतिक उद्देश्यहरू अघि बढाउने छ।’



















